बुटवल समाचारदाता
बुटवल, वैशाख २२ गते । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले कानुन बनाउने निकायमा जनताको सिधा पहुँच बढाउन जरुरी रहेको बताउनुभएको छ । जनताको प्रतिनिधित्वमा बन्ने कानुन नै जनताको कानुन हुने बताउँदै उहाँले जनताको पक्षमा कानुन बनोस् भन्ने सतर्कता अनुरूप नै व्यवस्थापिकालाई कानुन बनाउने अधिकार दिइएको र सोही अनुसार विश्वमा अभ्यास भइरहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सभा सचिवालयले आइतबार बुटवलमा आयोजना गरेको शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीका लागि अभ्यास संसद् कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्तीमगरले संसद् जनताको सार्वभौमसत्ता प्रयोग गर्न थलो भएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सभाले जनताको सार्वभौमिकता प्रयोग गरी प्रदेशलाई आवश्यकता पर्ने कानुन निर्माण गर्ने गरेको जानकारी दिनुभयो ।
प्रदेश सभाले कानुन बनाउने, सरकार बनाउने, नीति कार्यक्रम बनाउने र संसदीय निगरानी गर्ने रहेको बताउँदै सभामुख घर्तीले प्रदेश सभामा पहुँच वृद्धि गर्न विद्यार्थीसँग कार्यक्रम गरिएको प्रष्ट पार्नुभयो ।
लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँण केसीले मुलुकको जिम्मेवारी युवाको काँधमा आएको बताउनुभयो । उहाँले युवापुस्ताले स्वदेशमै सम्भावना देख्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “पढेलेखेका सक्षम युवा विदेश जाने ? यहाँ कसले नेतृत्व गर्छ ? युवा राजनीतिमा आउन जरुरी छ ।”
लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले कानुन कसरी बनाइन्छ भन्ने कुरा व्यावहारिक रूपमा अभ्यास गराइने र यसले विद्यार्थीलाई कानुन निर्माणको व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । दुई दिनसम्म बुटवलमा सञ्चालन हुने उक्त कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल सिटी क्याम्पस बुटवलका कानुनका एक सयभन्दा बढी विद्यार्थी सहभागी छन् । कानुन निर्माण प्रक्रियाको विषयमा व्यावहारिक ज्ञान दिने उद्देश्यले प्रदेश सभा सचिवालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।