• २२ वैशाख २०८२, सोमबार

भरतपुर अस्पतालमा विशिष्टीकृत सेवाको शुभारम्भ आज

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख २२ गते । भरतपुर अस्पतालमा छ वटा विशिष्टीकृत सेवाको शुभारम्भ हुँदैछ । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालमा सुरु हुन लागेको छ वटा विशिष्टीकृत सेवाको औपचारिक रूपमा उद्घाटन गर्न लाग्नु भएको हो । 

काठमाडाैँको वीर अस्पतालपछि धेरै बिरामीको चाप रहेको भरतपुर अस्पतालमा छ वटा सेवा विस्तारपछि राजधानी जानु पर्ने बाध्यता हट्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

विशिष्टीकृत सेवामा क्याथल्याव, जलन वार्ड (आगोले पोलेका विरामीकोलागि उपचार), निःसन्तान सम्बन्धी उपचार, बच्चाको सर्जरी, कलेजो सम्बन्धी उपचार, न्युरो सम्बन्धी उपचार लगायतको रहेको छ । 

क्याथल्याब सुरु भएपछि मुटु सम्बन्धी उपचारको लागि अब अन्यत्र जानु पर्ने बाध्यता हट्नेछ । हृदयाघात, मुटुको रगतका नसासम्बन्धी समस्या, मुटुको भल्भसम्बन्धी समस्या, जन्मजात मुटुरोलगायतका समस्या भएका बिरामीलाई क्याथ ल्याबबाट उपचार सेवा दिन सकिन्छ । मुटुमा रक्तनलीहरु थुनिँदा मानिसमा हृदयाघात हुने गर्छ । मुटुको शल्यक्रिया ओपन हार्ट सर्जरी र क्लोजहार्ट सर्जरी गरी दुई तरिकाले गर्न सकिन्छ ।

सरकारी अस्पतालमा क्याथल्याब नहुँदा बिरामीलाई मेडिकल कलेज पठाउनुपर्ने बाध्यता थियो । सरकार र अस्पतालको गरी कुल साढे ११ करोड रूपियाँमा यो सेवा सुरु गर्न लागिएको प्रा.डा.पौडेलले बताउनुभयो । 

अस्पतालमा यस अगाडि नै सञ्चालनमा रहेको जलनको उपचार अहिले विशिष्टीकृत रूपमा सेवा सञ्चालन गर्न लागिएको अस्पतालका सूचना अधिकारी डाक्टर रामप्रसाद सापकोटाले बताउनुभयो । अस्पतालले सामान्य सेवा दिँदै आएको थियो तर अब विशिष्टीकृत रूपमा दिँदै छौ उहाँले भन्नुभयो अव भरतपुर अस्पताल आउनु भएका बिरामीलाई अन्य अस्पतालमा पठाउनु पर्ने अवस्था रहँदैन । राजधानी पछि धेरै सेवा दिने भरतपुर अस्पताल भएको छ डाक्टर सापकोटाले भन्नुभयो । 

अस्पतालले छ वटा विशिष्टीकृत सेवा बाहेक अन्य सेवालाई पनि विस्तार गर्दै लैजाने तयारी गरेको छ । अस्पतालले सिमुल्टेसन ल्याबमा नयाँ चिकित्सकहरूलाई मानिसको डमीमा अपरेसन गर्न सिकाइन्छ । यो सेवा पनि आजैबाट सुरु हुने अस्पतालले जानकारी दिएको छ । 

मानिसको आकार दिएर बनाइएको डमीमा अपरेसन गर्न सिकाउने ठाउँलाई सिमुल्टेसन ल्याब भनिन्छ । बिरामीको अपरेसन थाल्नुअघि यो ल्याबमा चिकित्सकलाई अभ्यास गराइने छ ।