सिन्धुली समाचारदाता
फिक्कल (सिन्धुली), वैशाख २२ गते । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको यात्रा अझै जोखिमपूर्ण अवस्थामा रहेको छ । गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीको कटान र पहिरोबाट एक दर्जनभन्दा बढी स्थानमा क्षतिग्रस्त बनेको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डको हालसम्म पुनर्निर्माण नहुँदा यात्रा जोखिमपूर्ण बनेको हो ।
स्थानीयका अनुसार खुर्कोट–घुर्मी सडक सिन्धुली तथा रामेछाप जिल्लाको पूर्वी भागसहित खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर जिल्लालाई राजधानीसँग जोड्ने सडक हो । पक्की सडकका कारण यात्रा सहज रहेको उक्त सडकको विभिन्न ठाउँमा बाढीपहिरोले क्षति पु¥याएपछि यात्रा असुरक्षित बनाएको छ । उक्त सडक सिन्धुली जिल्लाको गोलन्जोर र फिक्कल गाउँपालिकाको सुनकोशी नदीको किनार हुँदै निर्माण भएको सडकको कतिपय स्थानमा बाढीले नामोनिसाना नै नरहने गरी बेससहित बगाएपछि अहिले काम चलाउ रूपमा बगरबाट अस्थायी ट्र्याक निर्माण गरेर यातायात सञ्चालन भइरहेको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गोलन्जोर गाउँपालिकामा सडकको सबैभन्दा बढी क्षति हैबार र मुर्किबेँसी क्षेत्रमा भएको छ । यो क्षेत्रमा सडक सुनकोशी नदीमा नै खसेको छ ।”
बर्खामा नदीमा बाढी आउनेबित्तिकै सडकको यात्रा निकै कष्टकर बन्ने उहाँको भनाइ छ । बाढीपहिरो गएको बेला स्थानीय प्रशासनले पहिरो पन्छाएर तत्काल एकतर्फी यातायात सञ्चालनमा ल्याए पनि स्तरवृद्धि तथा पुनर्निर्माणको काम अघि नबढ्दा यात्रा अत्यन्त जोखिमपूर्ण बनेको छ । धेरै जसो ठाउँमा सडकमा थुप्रिएको पहिरो पन्छाउने कामसमेत नभएको स्थानीयको गुनासो छ । सडकको विभिन्न स्थानमा भासिएको, चर्किएको तथा पहिरो खसेका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको गोलन्जोर गाउँपालिका–६ का बासिन्दा सुमन कोइराला बताउनुहुन्छ । उक्त सडकको हैबारमा पर्ने सुक्खा पहिरो सवारीसाधनका लागि सबैभन्दा ठुलो अभिशाप बनेको उहाँको भनाइ छ । “उक्त पहिरो सुक्खा मौसममा पनि झरी रहन्छ,” उहाँले भन्नुभयो, “जसका कारण घण्टौँसम्म सवारीसाधन अवरुद्ध हुने गरेका छन् ।”
सडक निर्माण सम्पन्न भएको खुर्कोट–घुर्मी खण्ड मध्यपहाडी लोकमार्ग आयोजनाले हालसम्म पनि सडक विभागलाई हस्तान्तरण नगरेको र क्षतिग्रस्त सडक मर्मत तथा स्तरोन्नति गर्न पालिकाको क्षेत्राधिकारमा पर्ने भएकाले समस्या भएको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उक्त सडक मर्मत गर्न सडक आयोजनालाई जानकारी गराएका छौँ । उसले एउटा प्याकेज ठेक्का लागेर काम सुरु हुन लागेको बताएको छ तर जेठ लाग्न आँटी सक्यो, अहिलेसम्म काम गर्न आएका छैनन् ।”