• १३ असोज २०८१, आइतबार

झोलुङ्गे पुल बनेपछि तुइन विस्थापन, स्थानीयहरु खुशी

blog

महाकाली नदीमाथि बनेको पुलमा यात्रा गर्दै स्थानीय । तस्बिर : लोकेन्द्र जोशी/दार्चुला ।

लोकेन्द्र जोशी

दार्चुला, जेठ २५ गते । महाकाली नदीमा दुईवटा पुल सञ्चालनमा आएसँगै जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको छ । व्यास गाउँपालिका –५ का लालबहादुर बमले भन्नुभयो, “बर्षौसम्म महाकाली नदीमाथि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भयौं,  अहिले पुलबाट नदी तर्न पाउँदा निकै सहज भएको छ ।”

दार्चुलामा नेपाल–भारत जोड्नेगरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीय खुसी भएका हुन् । तुइन विस्थापन कार्यक्रम अन्तर्गत व्यास गाउँपालिका –६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका –६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएका छन् । 

मालिकार्जुन गाउँपालिका –६ का तेजबहादुर चन्दले भन्नुभयो, “तुइन र ट्युबबाट नदी तर्ने क्रममा धेरैले अकालमै ज्यान गुमाएका थिए, अहिले आएर पुल निर्माण भएपछि जोखिमपूर्ण यात्राको अन्त्य भएको छ ।” स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले दार्चुलाको महाकाली नदीमाथि चारवटा झोलुङ्गे पुल निर्माण भइरहेको छ । 

दुई वटा पुलहरु सञ्चालनमा आइसकेको भएपनि थप दुईवटा पुलमा निर्माण कार्य जारी रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । व्यास गाउँपालिका –६ का कलावती भट्टले भन्नुभयो, “तुइन विस्थापन अन्तर्गत झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ ।” 

वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आउनुएका स्थानीयहरु तुइनको ठाउँमा झोलुङ्गे पुलमार्फत नेपाल–भारत आवतजावत गरिरहनुभएको छ । वर्षाका बेला   गाउँलेले महाकाली नदीमा अकालमै ज्यान गुमाउन बाध्य भए । अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन भट्टले भन्नुभयो । 

व्यास –६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल–भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे । नेपालतिरको बाटोबाट जाँदा ६ घण्टा समय लाग्छ । भारतबाट जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो । अहिले बडूगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको उहाँले बताउनुभयो । 

झोलुङ्गे पुल निर्माणपछि अब दुहुँ, व्यास, मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको स्थानीय जिवन धामीले बताउनुभयो । नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । 

व्यास–४ मडगाउँ र मालघाटमा पनि झोलुङ्गे पुल निर्माणाधीन छ । निर्माणाधिन दुबै पुल छिटो निर्माण सम्पन्न गर्न ताकेता गर्ने अध्यक्ष धामीको भनाई छ । मालगाउँ र मडगाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माण गरिरहेको छ । यी दुवै पुलका लागि कुल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता भएको छ ।

बाकु र बडूगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले पुल निर्माण गरेको छ । पुल निर्माण गर्न कुल दुई करोड ५५ लाख ६४ हजार लागत सम्झौता भएको थियो । बाकु र बडूगाउँ पुल सञ्चालनमा आएसँगै अब महाकालीमा आठवटा पुलबाट ओहोरदोहोर गर्न सकिने भएको छ । 

यअसघि ब्यास–६ को तिगरम र लेकम गाउँपालिका–३ को लाली, मालिकार्जुन–७ को जौलजीविमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भइसकेका छन् । दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका–४ खलंगा, महाकाली–९ दत्तु र व्यास गाउँपालिका–१ सितापुलमा समेत महाकालीमाथि पुल सञ्चालनमा आएका छन् ।