• ९ जेठ २०८१, बुधबार

समन्वय समितिका पदाधिकारीलाई गोपनीयताको शपथ

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ २५ गते । हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताके शपथ गराइएको छ । जिससमा एकल उम्मेदवारी परेपछि निर्विरोध रुपमा सदस्यहरु निर्वाचित हुनुभएको थियो । 

नेकपा (एमाले) बाट ६ र राप्रपाका तर्फबाट एक गरी सात पदमा सात मात्रै उम्मेदवारी परेको थियो । एमाले तर्फबाट प्रमुख पदमा बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकाका मायाँ गुरुङ, उपप्रमुखमा घरपझोङ गाउँपालिकाका आइतेलाल थकालीले उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

त्यसैगरी सदस्यहरुमा दलिततर्फ थासाङ गाउँपालिकाका उमेश वि.क., महिला सदस्य घरपझोङ गाउँपालिकाकी बिन्दु नेपाली मजकुटी, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट सन्तकुमारी बिश्वकर्मा कामी, लोघेकर दामोदर कुण्ड गाउँपालिकाबाट टसिलामो सेनचौरी र खुला सदस्यमा घरपझोङ गाउँपालिकाबाट राप्रपाका बिमल नेपालीको उम्मेदवारी दर्ता भएको थियो । 

एमालेले एउटा पदमा राप्रपालाई सघाएपछि जिल्ला समन्वय समिति मुस्ताङ निर्विरोध चयन भएको हो । जिल्ला समन्वय समिति प्रमुख मायाँ गुरुङलाई मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश रोमकान्त ज्ञवालीले शपथ गराउनुभयो । अन्य पदाधिकारीलाई समन्वय प्रमुख गुरुङले शपथ गराउनुभयो । 

गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचन–२०७९ मा हिमालपारीको जिल्ला मुस्ताङमा एमालेका ४ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको थियो । पाँच वटा स्थानीयतह रहेको मुस्ताङमा नेपाली कांगे्रेसले १ अध्यक्ष र २ उपाध्यक्ष पद जितेको थियो । मुस्ताङमा  एमालेले लोमान्थाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको छ ।

थासाङ गाउँपालिकामा अध्यक्ष पद जितेको छ । यस्तै, कांग्रेसले घरपझोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ भने थासाङ गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ । जिल्ला समन्वय समितिको पदाधिकारी चयन निर्वाचनका लागि स्थानीय तहमा निर्वाचित अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने व्यवस्था छ । 

जिल्ला समन्वयव समिति निर्वाचनका लागि एमालेको ७ मत र नेपाली कांग्रेसको ३ मत छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ १७ गतेदेखि २५ गतेसम्म मतदाता नामावाली सङ्कलनदेखि मतदान प्रक्रियासम्मको एक साता लामो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । सोही कार्यतालिका अनुसार एमाले नेतृत्वमा मात्रै उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताउनुभयो ।

उहाँकाअनुसार सदस्यहरुलाई शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा संविधानसभा सदस्य श्रीमायाँ थकाली, गाउँपालिका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालगायतको उपस्थिति थियो ।