• २८ वैशाख २०८१, शुक्रबार

जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढ्दो

blog

जिल्ला अस्पताल लमजुङमा चेकजाँचका लागि आएका विरामीहरु । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, जेठ २५ गते । गर्मी सुरु भएसँगै बेँसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार दैनिक विरामीको संख्या बढ्दो छ । 

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार हाल दैनिक ३ सय ५० देखि ३ सय ८० जना विरामीहरु अस्पतालमा आउनेगरेका छन् । गर्मी बढेसँगै अस्पतालमा झाडापखालाका विरामीको चाप बढेको छ । दैनिक रुपमा ४० जनाभन्दा बढी झाडापखालाका विरामीहरु अस्पतालमा चेकजाँचका लागि आउने गरेको उहाँले बताउनुभयो ।

गर्मीका कारण खानपान तथा पिउने पानीमा विशेष ध्यान नदिँदा झाडापखालाका विरामीको चाप बढेको उहाँको भनाई छ । यस्तै, अस्पतालमा हाडजोर्नी, आँखा, दाँत, पेटसम्बन्धी समस्या भएका, महिला रोगसम्बन्धी समस्या भएका लगायतका विरामी आउनगरेका छन् ।

दैनिक ३५ जनाभन्दा बढी हाडजोर्नी, ३० जनाभन्दा बढी महिला रोगसम्बन्धी, १० जना भन्दा बढी फिजियोथेरापी, १० जना दाँतका विरामी, १५ जनासम्म आँखाका विरामी स्वास्थ्य परीक्षणका लागि आउनेगरेको अस्प्तालले जनाएको छ ।

अस्पतालमा हाल २० जनाका दरले विरामीहरु भर्ना भएका छन् । दमको समस्या बृद्धबृद्धा, हाडजोर्नी एपेन्डिसाईटिसको शल्यक्रिया गरी बसेका तथा सामान्य विरामी वार्डमा भर्ना भएका छन् ।

अस्पतालमा दैनिक बालकदेखि बृद्धबृद्धा तथा सवै उमेर समूहका विरामीहरु चेकजाँचको लागि आउनेगरेको अस्पतालले जनाएको छ । गत बर्षमाभन्दा यसबर्ष विरामीको चाप बढी रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालले पाँच बर्ष मुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदैआएको छ ।