तानसेन समाचारदाता
तानसेन, वैशाख २१ गते । पाल्पाको माथागढी गाउँपालिकाभित्रका किसानले वार्षिक ६० लाख रुपियाँको काफल बिक्री गर्दै आएका छन् । माथागढीको वडा नं. ४ र ३ का स्थानीय बासिन्दाले हरेक वर्ष ६० लाख बढीको काफल बिक्री गर्दै आएका हुन् ।
वडा नं. ४ को देवगिर, डन्डेनी, देउराली, मौलाथर, मकले क्षेत्रका किसानले ४० लाख बढीको काफल बिक्री गरेका छन् । देवगिरका स्थानीय व्यापारी गीता न्यौपानेले यस वर्षको चैतको दोस्रो सातादेखि नै काफल बिक्री गर्दै आएको बताउनुभयो । उहाँले आफूहरूले विगत पाँच वर्षदेखि स्थानीय किसानले ल्याउने काफल सङ्कलन गरेर तानसेन र बुटवलमा बिक्री गर्दै आएको बताउनुभयो ।
किसानले बारीको कान्लामा रहेका काफलका बोटबाट दाना टिपेर स्थानीय व्यापारीलाई बिक्री गर्ने गरेका छन् । न्यौपानेले केही किसानले भने तानसेन, बाँसटारी गएर काफल बिक्री गर्दै आएको बताउनुभयो । उहाँले गत वर्ष आफूले मात्र ४० लाख बढीको काफल बिक्री गर्दै आएको जानकारी दिनुभयो । काफल बिक्री गरेर यहाँका किसानले घरखर्च चलाउँदै आएका छन् । काफलबाट ठुलो आम्दानी नभए पनि घरमा आवश्यक पर्ने नुन, तेल, दाल, चामल खरिद गर्न पुगेको किसानको भनाइ छ ।
यस वर्ष असिना पानी नआए वैशाखसम्ममा ४० लाख बढीको काफल खरिद गर्ने व्यापारीको भनाइ छ । किसानले प्रतिमाना एक सय रुपियाँमा काफल बिक्री गर्ने गरेका छन् । माथागढी गाउँपालिकाका प्रवक्ता शङ्कर दर्लामीले बिक्रीका लागि बजारसम्म जाने किसानले भने प्रतिमाना १५० देखि दुई सय रुपियाँसम्म नगद पाएको बताउनुभयो ।
गाउँपालिकाले काफल पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहनका लागि सङ्कलन गर्न व्यापारीसँग सहजीकरण गर्ने गरेको छ । प्रवक्ता दर्लामीले काफल सङ्कलन गर्न सहज होस् भनेर किसानलाई निःशुल्क क्यारेट वितरण गरेको जानकारी दिनुभयो । यस्तै माथागढीको वडा नं. ३ स्थित सिकारकोट, भैसकट्टा, ओलेसलगायतका क्षेत्रमा बसोबास गर्ने किसानले पनि हरेक वर्ष काफल बिक्री गर्दै आएका छन् । वडाध्यक्ष तेजबहादुर घर्तीमगरले त्यस क्षेत्रबाट वार्षिक १५ लाख बढीको काफल बिक्री हुने बताउनुभयो । यहाँका किसानले भने स्थानीय बजार सराई, खहरे, दमकडासहित बाँसटारी, तानसेन र बुटवलमा पनि काफल बिक्री गर्दै आएका छन् । काफल स्वास्थ्यका लागि अत्यन्तै फलदायी फलफूल मानिन्छ । विषादी प्रयोग नभएको अर्गानिक फलका रूपमा काफल खाने मानिसको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ ।