गुणबहादुर रोका
सुलीकोट, जेठ ११ गते । गोरखाको अजिरकोट गाउँपालिकाको सिम्जुङ–महाभीर र बारपाक सुलीकोट गाउँपालिका-३ जोड्ने मुख्य सडक झण्डै १५ वर्षपछि कालोपत्रे भएको छ । दुई पालिका जोड्ने मुख्य सडक भएकाले अजिरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाका विशेष पहलामा झण्डै ७.३० किलोमिटर सडक कालोपत्रे सुरु भएको हो ।
२०६६ सालमा तत्कालिन सिम्जुङ गाउँ विकास समितिले ट्रयाक मार्ग खुलाइएता पनि १५ वर्षपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार कार्यालय गोरखामार्फत् कालो पत्रे सुरु भएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले जानकारी दिनुभयो ।
सडक कालोपत्रे भएपछि दुई गाउँपालिकाका स्थानीयहरु सहजै बिना सास्ती एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा पुग्न एक घण्टाबाट घटेर २० मिनेटमा पुग्न सकिने भएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टको भनाइ छ ।
सडक कालोपत्रे योजनाका लागि एमएस कर्न नबकान्तिपुर जेभी कम्पनीसँग २०८० साल असार २० गते सम्झौता भएर काम अघि बढेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुबेदीले जानकारी दिनुभयो । २०८२ साल असार १९ गते सम्पन्न गर्नुपर्ने कालोपत्रे समय सिमा भित्र रहेर काम सम्पन्न हुने गरी निर्माण कम्पनीले लगभग अन्तिम चरणमा पु–याएको उहाँको भनाइ छ ।
विषेशगरी अजिरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकासम्म सहजै आबतजाबत गर्न सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामान गर्दै जोखिम र सास्तीपूर्ण यात्रा गर्दै आएकोमा सडक कालोपत्रे भएपछि दुईपालिकाका स्थानियहरु खुशी भएका छन् ।
गोरखाको पर्यटकिय गन्त्वयको रुपमा विकास हुँदै गएको अजिरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाको उक्त सडक कालोपत्रे सम्पन्न भएपछि पर्यटकहरुलाई थोरै समयमा पनि दुई पालिकाका पर्यटकिय स्थल अबलोकन गर्न सकिने अजिरकोट गाउँपालिकाले जनाएको छ । साथै उक्त सडकले दुई पालिकालाई ब्यापारीक फाईदा पुग्ने भएकाले पनि यस सडकको निकै महत्व रहेको छ ।
पूर्वाधार कार्यालय गोरखाको ३६ करोड ४७ लाख ७९ हजार ९ सय ३१ रुपियाँमा पूर्वाधार कार्यालय र निर्माण कम्पनीसँग ७.३० किलोमिटर सडक कालो पत्रे र एक साईडमा पक्की नाली बनाउनु पर्ने सम्झौता उल्लेख छ । बाटोको ७ मिटर चौडाई र सबग्रेड सबबेश, बेश फाईनल भईसकेको पुर्बाधार कार्यालय गोरखाका प्रमुख गणेश सुबेदीले बताउनुभयो ।