विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ १० गते । सप्तरीमा ट्याक्टरकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित हुलाकी सडकखण्डमा शनिबार भएको दुर्घटनामा एउटै वडाका दुई जनाको मृत्य भएको हो ।
दुर्घटनामा विष्णुपुर गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय सागर मण्डल र १९ वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक सोही वडा निवासी १८ वर्षीय धनन्जय यादव घाइते हुनुभएको छ । उहाँलाई राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । पत्थरगाडाबाट राजबिराजतर्फ जाँदै गरेको इँट्टा लोड भएको स १ त ५४४२ नम्बरको ट्याक्टर र म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोक्किएको हो ।
ट्याकटर र मोटरसाइकल नियन्त्रणमा लिई फरार रहेका ट्याकटर चालकको खोजी र घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।