रामकृष्ण बोहरा
बागलुङ, जेठ ११ गते । बागलुङको जैमिनी नगरपालिकाले आठ घरविहीन परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको छ । जैमिनीले आर्थिक रुपमा विपन्न परिवारलाई ओत लाग्न नयाँ घर हस्तान्तरण गर्नुका साथै प्राकृतिक विपतबाट प्रभावित तेह्र घर परिवारलाई घर निर्माण गरेको हो ।
आर्थिक वर्ष २०८०–८१ मा सम्झौता भएका घरविहीन जैमिनी –८ छिस्तीका सन्तबहादुर विक, जैमिनी वडा ३ उपल्लो दमेकका गिरीबहादुर परियार, तुलबहादुर घर्ति, वडा ९ पैयुथन्थापका धर्मागत पाध्य, भविन्द्र थापा, वडा १० राङखानीका हरिमाया थापा, वडा ४ सर्कुवाकी देउरुपा सार्की, जैमिनी वडा ८ छिस्तीकी नरवदी पुन घर्तिलाई नयाँ घर निर्माणका लागि दुई–दुई लाख रुपियाँ भुक्तानी गरिएको नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाका अनुसार, चालु आर्थिक वर्षमा परिमार्जित कार्यविधिअनुसार मूल्याङ्कन आधारमा आर्थिक अवस्था कमजोर भइ घरविहीन बनेकालाई २ लाख, घरविहीनलाई ३ लाख र विपत् प्रभावित घरविहीनलाई २ लाख ५० हजार रुपियाँ भुक्तानी गरिने छ ।
यस्तै, प्राकृतिक विपतबाट प्रभावित तेह्र घर परिवारलाई जिल्ला विपत् कोषसँग सहकार्य गरेर घर निर्माण नगरपालिकाले साथ दिएको छ । कुश्मीसेराका डिलकुमारी पुन, बिनामारेका मनु हमाल, बुद्विकुमारी जैसी, दमेकका रुपा बहिक, विष्णुप्रसाद सापकोटा, पैयुथन्थापका शुक्रबीर सार्की, टिकाराम शर्मा, रुपा नेपाली, अर्जेवाका फर्सबहादुर कामी, प्रकाश विक, राङखानीका यामबहादुर दर्जी, जैदीकी तुलसी शाही र बिनामारेका विष्णु शर्माको घर पुननिर्माणमा कुल लागतको १५ प्रतिशत नगरपालिकाले साझेदारी गरेको हो ।
यस्तै, जैमिनी नगरपालिकाले पचपन्न खरका छाना विस्थापित गरेको छ । खरका छाना विस्थापित गरेर नगरपालिकाले जस्तापाता उपलब्ध गराएपछि गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवार खुसी बनेका छन् । जस्तापाताले घर छाएपछि वर्षेनी छाना फेरिरहनु पर्ने विपन्न परिवारको बाध्यता अन्त्य भएको उहाँहरुको भनाइ छ ।
आगलागी र मनसुनजन्य विपतबाट नागरिकलाई जोगाइ सुरक्षित आवास निर्माणका लागि खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । ‘‘नागरिकको सुरक्षित आवास भएमात्र विकास निर्माणका काम गर्न सकिने भएकाले खरका छानामुक्त गर्ने अभियान चलाइएको हो’’ शर्माले भन्नुभयो । विपन्नलाई खरको छानामुक्त गर्ने योजनाले ठुलो राहत मिलेको शर्मा बताउनुहुन्छ ।
जैमिनीले आफ्नै बजेटबाट खरका छाना विस्थापित गरेको हो । खरको छाना विस्थापित हुँदा हरेक वर्ष छाउनुपर्ने समस्याको अन्त्य हुनुका साथै आगलागीको जोखिम समेत कम भएको जैमिनी वडा २ दमेककी कृष्णकुमारी विकले बताउनुभयो ।
जैमिनीले आगामी चैत मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्नेगरी बालमैत्री स्थानीय शासनयुक्त नगरको अभियान थालेको छ । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गरेर लीड विद्यालयको लक्ष्य पूरा गर्ने तयारी गरेको नगरपालिकाले सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ । जैमिनी नगरपालिकाले जग्गा वर्गीकरण, सडक गुरुयोजना, सरसफाइ योजना र विपत प्रतिकार्य योजना बनाएर लागू गरिसकेको छ ।
किसानका लागि निःशुल्क कल सेवा, नाफा प्रोजेक्ट सञ्चालन, अलैंची जोनमा समावेश तथा कृषि एम्बुलेन्स खरिद गर्ने जैमिनीको तयारी छ । कृषिका पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरेको जैमिनीले हलगोरु पाल्ने किसानलाई सम्मान र प्रोत्साहन दिने, उत्पादनमा आधारिक अनुदान समेत दिएको छ ।
पर्यटन प्रवद्र्धनतर्फ गाजा दहलाई व्यवस्थित बनाउने, सिद्धबराहको मूर्ति निर्माण, हाडिकोटमा पूर्वाधार, थन्थाप भगवतीलाई व्यवस्थित बनाउने, रिठेडाँडामा पर्यटकीय पूर्वाधार बनाउने काम नगरपालिकाले गरेको छ ।