अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २० गते । पालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा चापाकोट नगरपालिका एलाई तिलोत्तमाले ४४ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित १५ ओभरमा आठ विकेटको क्षतिमा १४४ रन बनाएको थियो ।
तिलोत्तमाको लागि विकल पराजुलीले ४७, सुरज चौधरीले ३५ र विपर्स केसीले २१ रन बनाउनु भएको थियो भने चापाकोटका रामचन्द्र ढकालले चार, नारायण भण्डारीले दुई रविन भट्राई र अनिश ताम्राकारले एक/एक विकेट लिनु भएको हो ।
१४५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको चापाकोट एले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा एक सय रन बनाउदै उपविजेतामा सिमिति भएको हो ।
चापाकोटको लागि नारायण भण्डारीले ३१, विशाल कोइरालाले १६, राचन्द्र ढकालले १४ रन बनाएका थिए भने सस्तैमा समेट्न तिलोत्तमका अमन बोहराले तीन, विपर्स केसी विकल अधिकारील दुई, दुई, मुनेश्वर चौधरी र लाल बहादुर मालाले एक, एक विकेट लिएका थिए ।
तिलोत्तमाले उपाधि सहित ५० हजार रुपियाँ, कप मेडल र प्रमाणपत्र हात पारेको हो भने उपविजेतामा सिमित चापाकोट एले ३० हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो । विजेता तथा उपविजेतालाई चापाकोट नगरपालिका प्रमुख देवबहादुर खाणले पुरस्कार वितरण गर्नु भएको थियो ।
वैशाख १६ गतेबाट चापाकोटको गङ्गालाल मावि खेलमैदानमा नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा १३ पालिकाका १८ टिमको सहभागिता रहेको सङ्घका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो ।