• २१ वैशाख २०८२, आइतबार

लायन्स भलिबल : एपिएफ सेमिफाइनलमा

blog

शनिबारको खेलमा प्रतिस्पर्धा गर्दे खेलाडी । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), वैशाख २० गते । लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलमा विभागीय टोली एपीएफले गण्डकीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफको जितसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । 

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा शनिबार भएकोे खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा एपिएफले पराजित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । 

यस्तै, तेस्रो सेट २३–२५ ले गुमाएको थियो ।  एपीएफले ३ अङ्कले पछि परेको अवस्थामा चौथो सेटमा लगातार १२ अङ्क लिँदै २५–१४ ले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता बनाएको एपिएफले १५–११ ले जित निकालेको हो । 

पराजयसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफ पहिलो खेलमा इरानसँग पराजित भएको थियो । प्रतियोगितामा समूह ‘ए’ बाट इरानी टोली विजेता र एपिएफ उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएका हुन् ।  

आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुँदैछ । उक्त खेल नतिजाले सेमिफाइनल समीकरण टुङ्गो लाग्ने छ । पुलिस र भारतीय टोलीले समूह ‘बी’ मा एकएक जित दर्ता गराएका छन् । आर्मी भने जितविहीन छ । लायन्स कप भलिबल पहिलो पटक पोखरामा आयोजना गरिएको हो ।