• १६ असार २०८१, आइतबार

बलान नदी कटान नियन्त्रणको प्रयास

blog

जीबछ यादव

लहान, जेठ २५ गते । सिरहा र सप्तरीको सीमाना रहेको बलान नदीले स्थानीयको उर्वर भूमि तथा डुवान गर्न थालेपछि नगरपालिकाले नियन्त्रणको प्रयासमा जुटेको छ । 

नदीले पश्चिम किनार रहेका लहान २३ को करैया तिलेबोना गाँउका किसानको सयौं विघा उर्बर जमीन कटान गरेर बस्तीतिर सोझिएपछि नवनिर्वाचित जन प्रतिनिधिहरुसँग स्थानीयले गरेको आग्रहअनुसार तत्काल १५ लाख रुपियाँ लहान नगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।  

लहान नगरपालिकाको बजेटबाट मात्र कटान रोक्ने बजेट पर्याप्त नभएकाले यसका लागि मधेस प्रदेश सरकार र संघीय सरकारसँग बजेट माग गरेर बलान नदी कटान रोक्न पहल थालिएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्काल १५ लाख रकम छुट्टयाएर रोकथाम गर्न अपनाउनु पर्ने सावधानीबारे प्राविधिकसँग छलफल गरी अघि बढेका छौं ।’ 

लहान नगरपालिका २३, सखुवानन्करकटि गाउँपालिकाको ४ र ५ नम्बर वडा र भगवानपुर गाँउपालिकाको १ र ४ नम्बर वडाको गरी सयौं विघा उर्वर जमिन वर्षौदेखि कटान भइरहेको लहान –२३ का मुशहरु यादवले बताउनुभयो । वर्षाको समयमा प्रत्येक वर्ष बलान नदी किनारका गाँउलेहरुको विचल्ली हुनेगरेको छ ।  

वर्षाको समयमा मधेस प्रदेशमा विभागीय मन्त्री, संघीय सरकारका मन्त्री र सांसदहरु कटानले गरेको क्षति हेरेर जानुहुन्छ, अश्वासन पनि दिनुहुन्छ तर सुख्खा समयमा कटान नियणत्रणको पहल लिनु हुँदैन स्थानीयको नथुनी यादवले दुखेसो पोख्नुभयो । 

नवनिर्वाचित नगरपालिका प्रमुख चौधरीले देखाउनुभएको सक्रियताले समस्या समाधान हुने आशा जागेको उहाँले बताउनुभयो ।