• २० वैशाख २०८२, शनिबार

अथक परिश्रमको स्वागतयोग्य सम्प्राप्ति

blog

नीलकमल (कमल सुवेदी) नेपाली नाटक, रङ्गमञ्च, चलचित्र, लोकवाङ्मयका क्षेत्रका चिनारीमूलक लेखन तथा अन्वेषणमा लागिपरेको पाइन्छ । उहाँको ‘सङ्क्षिप्त नेपाली नाट्यकोश’ (नाटक र रङ्गमञ्चका पारिभाषिक शब्द) (२०८१) प्रकाशनमा आएको छ । यस कोशको मुख्य उद्देश्य नाट्य क्षेत्रसँग सम्बद्ध भएर पारिभाषिक शब्दको सङ्ग्रह गर्नाका साथै ती शब्दको चिनारीमूलक चर्चामा जोडिनु नै हो । यसो भए पनि नाटककेन्द्रित भएर रङ्गमञ्च हुँदै नेपाली साहित्यका फाँटमा दृष्टि दिनु यस कृतिको लेखन, सम्पादन या संयोजनमा देखिएको उल्लेख्य पक्ष हो । शब्द, पदावलीको प्रविष्टि, ती शब्द र पदावलीको परिभाषा, तस्बिरको प्रयोग आदिबाट अवधारणाबोध गराउनु यस कोशका सम्पादनमा अपनाइएको आधार हो । यसबाट प्रस्तुत कृति लामो समयको अथक परिश्रमको प्रतिफल भएको यथार्थ पनि बिर्सन मिल्दैन ।      

सामान्य कोशमा व्याकरण, अर्थको केन्द्र, प्रकार र तहको विशेष भूमिका हुन्छ भने पारिभाषिक कोशमा अर्थका तहबाट व्यापक भई अवधारणात्मक आधार या पारिभाषीकरणले नै महŒव राख्ने गर्छ । साहित्यको पुरानो विधा नाटकका पुराना मान्यतादेखि अर्वाचीन मान्यतासम्म विस्तार भई यस कृतिमा शब्द या शब्दावलीको प्रविष्टिको आधार निर्माण गरिएको छ । साहित्यभित्रको पनि नाटक विधामा केन्द्रित रही नाट्य क्षेत्रगत शब्दको पारिभाषिक चिनारीको अभीष्ट नै यस कोशको सम्पादनमा देखिएको मुख्य पक्ष हो । यसैले यस कोशमा नाटक विधामा केन्द्रित भएर विधागत आधारका शब्द÷शब्दावली र पदावलीको वर्णानुव्रmमको प्रविष्टिसहित परिभाषित गरिएको छ । 

यसर्थ यस कोशको लेखन र सम्पादनमा पनि अर्थगत अवधारणामै जोड दिइएको छ । यस कृतिमा नाटक विधाको समग्रताभित्र विचरण गर्दा पूर्वीय (विशेषतः संस्कृत साहित्य) र पाश्चात्य (विशेषतः अङ्ग्रेजी साहित्य) का सामग्रीलाई आधार मानिएको छ । यद्यपि पूर्व र पश्चिमको अन्य भाषागत योगदानको सन्दर्भगत चर्चा पनि यसका लेखनमा समेटिएको पाइन्छ । समग्र नाट्य मान्यता नेपाली परम्परा र प्रयोगसँग जोड्ने व्रmम पनि यस व्रmममा आएको छ । यस आधारबाट नेपाली नाट्य परम्परा अडिलो बनेको पक्ष पनि यसको सम्पादन र लेखनमा प्रतिविम्बन भएको छ । 

प्रस्तुत कोशमा नाटक विधाका पारिभाषिक शब्द सङ्ग्रहको मूल उद्देश्य भए पनि नाटकसँग नजिकबाट जोडिएका रङ्गमञ्च, अभिनय, चलचित्र, सङ्केत (अमौखिक सञ्चार) आदि क्षेत्रका शब्द, शब्दावली समेटिएका छन् । यसरी नै यी क्षेत्रका आन्दोलन, वाद, चिन्तनसँगै ऐतिहासिक पक्ष या व्रmम विकासको पनि समावेश गरिएको छ । नेपालीपन र प्रयोग सन्दर्भ होस् या यस क्षेत्रमा विशिष्ट योगदान दिने नाटककार र तिनका कृति अनि अन्य भाषाका नाटककार र नाट्यकृतिका समावेशका कारण पनि यो कृति व्यापक बनेको छ । 

यसका साथै संस्कृत र अङ्ग्रेजी भाषा अनि नेपालका नेपाल भाषा, मैथिली, तामाङ, किराँतीलगायतका भाषामा लेखिएका नाटक र तिनको सन्दर्भ पनि दिइएको छ । यसरी नाट्य क्षेत्रको समग्र आँखीझ्यालका रूपमा यो कृति रहेको यथार्थ पनि बिर्सन मिल्दैन । 

परम्परागत मान्यतादेखि समसामयिक चिन्तनका पक्ष पनि यस कोशमा समावेश गरिएको छ । विश्व रङ्गमञ्चका साथै नाटकका क्षेत्रमा विशिष्ट छवि बनाएका व्यक्ति, कृति, प्रयोग, थालनी र परम्परामा नवीनताको एकमुष्ट विषयगत पक्षको खोजी पनि यसको लेखनको सम्प्राप्ति हो । शब्द तथा शब्दावलीका तहमा शाब्दिक मात्र नभई चित्र संयोजनबाट अवधारणात्मक बोधमा अनि सन्दर्भगत अङ्कनबाट प्रामाणिक दृष्टिकोण निर्माणमा सहज भएको तथ्य पनि यसको लेखन, सम्पादनमा बिर्सन मिल्दैन । 

मूल भागसँगै यस कृतिको परिशिष्ट खण्ड पनि उल्लेख्य बनेको छ । परिशिष्ट खण्डमा नेपाली भाषामा लेखिएका ५९८ नाटकको सूचना, यस्तै संस्कृत, नेपाल भाषा, मैथिली, सुनुवारी, भोजपुरी, लिम्बू, थारू, तामाङ, किराँत आदि भाषाका ५२ वटा नाटक, यस्तै ५० वटा बालनाटक, अनूदित नाटक ७४ वटा र १०२ वटा नाट्य समूहको सूचनात्मक तथ्य पनि सङ्कलन गरिएको छ । यसबाट यो कृति नाटयोत्रको हाते किताब बनेको तथ्य पनि बिर्सन मिल्दैन । 

विविध किसिमका सकारात्मक पक्ष हुँदाहुँदै पनि यस कृतिमा भाषागत कसरमसरसँगै सम्पादनगत या विधिगत सुस्पष्टता या अभाव खट्किएको विषय हो । सम्पादनका व्रmममा शब्दसङ्ग्रहको आधार, पारिभाषिक सन्दर्भको खोजी, आधिकारिकताका लागि सन्दर्भगत अङ्कन आदि पक्षमा पनि स्पष्ट र एकरूपता नभएको बोध हुन्छ । नेपालका भाषाभित्रको अनुवाद र सिर्जनात्मक क्षेत्रमा मगर भाषाको नाट्यपरम्परा पनि उल्लेखनीय देखिन्छ । नेपालभित्रको यो लेखन यस कृतिमा समेटिएको छैन । यस्तै कतिपय शब्द खोजी गर्ने व्रmममा ‘हेर्नुहोस्’ भनिएका शब्दमा गरिएको परिभाषा पनि त्यस शब्दसँग ठ्याक्कै अवधारणा नबन्ने स्थिति रहेको छ । यस प्रसङ्गमा नृत्यनाटिकामा लेखिएको परिभाषाबाटै भावनाटकको अवधारणा निर्माण गर्न सहज नहुने देखिन्छ । 

यस्तै कविता विधासँग जोडिएका लयगत आधारमा पद्यनाटक, गीतिनाटकको प्रविष्टि जस्तै गद्यकवितात्मक लय (मुक्तलय) मा लेखिएका नाटकको चर्चा भने यस व्रmममा पाइँदैन । सम्पादनका व्रmममा छुट भएका सामग्री र सम्पादनका तहमा देखिएका अभाव आगामी संस्करणका लागि ऊर्जा नै हुने विषय हो । यस किसिमका सीमाभन्दा पनि सम्पादन तथा लेखनका व्रmममा दृष्टि निखार गर्दै परिष्कारमा जोड दिनुपर्ने पक्ष आवश्यक नै देखिन्छ । 

यसका साथै पदपदावलीको प्रविष्टिगत मानकमा रहेर पारिभाषिक कोशका मान्यताभित्र कोशकारको अध्ययन प्रगाढ बन्ने नै छ भन्ने तथ्य यस सन्दर्भमा आशा राख्नु अन्यथा भने होइन । यो प्रवेशद्वार हो र यसबाट विशाल नाट्यविधामा अध्ययन गर्ने सामग्री र क्षेत्र खोजी गर्न सहयोग पुग्ने देखिन्छ । 

यसले गर्दा प्रस्तुत कृति पठनीय र सङ्ग्रहणीय भएको यथार्थ बिर्सन मिल्दैन । नेपाली भाषामा यस किसिमका विविध क्षेत्रगत काम गर्दा नै नेपाली भाषाको गरिमा अनि धनीपन देखिने हुँदा यो कृति स्वागतयोग्य रहेको छ ।