नवलपुर समाचारदाता
नवलपुर, वैशाख २० गते । नवलपुरमा शुक्रबार बिहान परेको वर्षाबाट आएको बाढीले दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन बगाएको छ । डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले डाइभर्सनको आधा भाग बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । जसका कारण यात्रुवाहक सवारी तथा हलुका सवारीसाधनलाई होङ्सी सिमेन्ट गेटबाट वैकल्पिक मार्ग हुँदै गन्तव्यतर्फ पठाइएको नेपालले बताउनुभयो । डाइभर्सन मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।
गत पुस २६ गते भारतीय हेभी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाएको डाइभर्सन पटक पटक खोलाले बगाएपछि ट्राफिक व्यवस्थापनमा थप समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । यसअघि पनि चैत ३० गतेको बाढीले डाइभर्सन बगाएपछि लामो समय यातायात अबरुद्ध भएको थियो ।
दाउन्नेमा सडक विस्तारका लागि बिहान वैशाख १ देखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तारको काम भइरहेकोमा थप १५ दिन वैशाख ३१ गतेसम्म रातिमा सवारीसाधन चल्न रोक लगाइएको छ ।