बैतडी समाचारदाता
बैतडी, वैशाख २० गते । तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा आउन थालेपछि अहिले कुवाको तथ्याङ्क छैन । कुवा पँधेरा छाडेर धारामा आइपुग्दा मुहान सुक्न थालेपछि जिल्लाभरि लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको छ ।
गाउँपालिकामा भएका धाराको मुहान सुकेपछि शिवनाथ गाउँपालिका सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । गाउँ गाउँमा सडक निर्माण हुँदा अधिकांश कुवा मासिएका छन् । भएका सबै मुहान सुकेपछि महाली नदीबाट पानी तान्न ४० करोड रुपियाँको लिफ्ट खानेपानी योजनाको अध्ययन भइरहेको छ । यति ठुलो योजना गाउँपालिका र प्रदेश सरकारले बनाउन नसक्ने भएपछि सङ्घीय सरकारसँग योजना माग गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । उहाँले जलवायु परिवर्तन, डोजरले सडक निर्माण र सल्लाको वन बढेकाले पानीको सङ्कट चुलिएको बताउनुभयो ।
शिवनाथ मात्रै होइन, देन्वालो (भगवतीको कुवा) रहेको मेलौली नगरपालिकामा पानीका मुहान सुकेपछि सुर्नया नदीबाट सौर्य ऊर्जाको प्रयोगले पानी तानेर नगरपालिका–१ को बजारक्षेत्रमा पानीको जोहो गरिएको छ ।
मेलौली नगरपालिका–९ का ४७० स्थानीयवासी, विद्यालय र स्वास्थ्य चौकीले प्रयोग गर्दै आएको मर्छले खोलाको मुहान सुकेपछि धारामा पानी आउन छाडेको स्थानीय सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । विकल्पमा स्थानीयले मेलघट–केदारमाडौँ लिफ्ट खानेपानीको माग गरेको उहाँले बताउनुभयो ।
देन्वालो (मौलिक कुवा) भएकै अर्को दशरथचन्द नगरपालिका–२, देहिमाण्डौँ आसपासका क्षेत्रमा पानीका मूल सुकेपछि लिफ्ट खानेपानी योजना अघि बढाइएको छ । बस्तीनजिकका मुहान सुकेपछि जिल्लाभरि अहिले सानाठुला गरेर एक सयभन्दा बढी लिफ्ट खानेपानीका योजना बनेका छन् ।
जिल्लाका मुख्य ठुला बजार खोड्पे, पाटन, मेलौली, देहिमाण्डौँ र बैतडी सदरमुकाममा अहिले उपभोक्ताबाट मासिक शुल्क लिएर लिफ्ट खानेपानी सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन बैतडी कार्यालयका प्रमुख गोविन्द देवकोटाले बताउनुभयो । उहाँले जिल्लाका अधिकांश ठाउँमा पानीका मुहान सुकेपछि साना नदीबाट मोटरको सहायताले पानी तान्नुपर्ने अवस्था सिर्जना भएको बनाउनुभयो ।
कार्यालयमार्फत चालु आवमा बैतडी र दार्चुलामा ३४९ वटा खानेपानीका योजना छन् । खानेपानीका व्रmमागत योजनासमेत जोड्ने हो भने बैतडीमा १२१ र दार्चुलामा ६० वटा पुराना व्रmमागत योजना छन् । यीमध्ये अधिकांश लिफ्ट खानेपानीका योजना रहेको उहाँले बताउनुभयो । गाउँबस्तीमा भएका मुहान सुकेपछि नयाँ खानेपानी योजना निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले चालु आवमा बैतडी र दार्चुलामा ४७ करोड रुपियाँ खर्च गर्दै छ ।
केही वर्षअघि कलकल बग्ने सिगास गाउँपालिका–१ को जुकेपानी र ढाँणा खोला अहिले सुकेको छ । स्थानीयले सो क्षेत्रमा खोटे सल्लाको वन बढेपछि मुहान सुकेको बताए पनि अध्ययन हुन सकेको छैन । सिगास गाउँपालिका–१ का स्थानीय जयराम विश्वकर्माले बाँझ र लालीगुँरास हुने ठाउँमा सल्लाको वन बढ्न थालेपछि मुहानमा पानी घट्दै गएको बताउनुभयो ।
डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार जिल्लामा कुल ८७ हजार हेक्टर वन क्षेत्रमध्ये खोटे सल्लाको वन मात्रै ३३ हजार हेक्टरभन्दा बढी छ । पानी सञ्चित गरेर जमिनलाई चिस्यान बनाएर राख्ने चौडा पात भएको वनक्षेत्र जम्मा सात हजार हेक्टर मात्रै रहेको पाइएको छ ।