• १६ असार २०८१, आइतबार

एक कार्यकाल कार्यालय सहयोगी, अहिले वडाध्यक्ष

blog

सल्यानका वडाध्यक्ष किसान खत्री। तस्बिरः नवीन शिशिर विक

बागलुङ समाचारदाता

बागलुङ, जेठ २५ गते। बागलुङको बरेङ गाउँपालिका-४ सल्यानका किसान खत्री गत वैशाख १५ गतेसम्म वडा कार्यालयमा सहयोगीको भूमीकामा हुनुहुन्थ्यो।

 पहिलो स्थानीय तह निर्वाचनपछि स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित लिलबहादुर खत्रीले नियुक्त गर्नुभएको थियो। पाँच वर्ष कार्यालय सहयोगीको भूमीकामा जनताको सेवा गर्नुभएको किसान खत्रीले दोस्रो स्थानीय तह निर्वाचनमा आफैलाई नियुक्त गर्ने  वडाध्यक्षलाई पराजित गर्दै वडाध्यक्ष बन्नुभएको हो। 

राजीनामा दिएको पन्ध्र  दिनमा जनताबाट अनुमोदित भएर किसान वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो। उहाँ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो। लिलबहादुर फेरि पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। 

किसानले ३०४ मत प्राप्त गर्दा लिलबहादुरले २७७ मत प्राप्त गर्नुभएको थियो। ‘कार्यालय सहयोगी भए पनि जनताको सेवामा थिएँ’ उहाँले भन्नुभयो, ‘अब पनि जनताकै सेवक भएर काम गर्छु।’ स्थानीय विकास निर्माणको लागि सबैलाई समेटेर जाने किसानको भनाइ छ।

 अध्यक्षका प्रतिस्पर्धी लिलबहादुरले जनताको मतलाई सम्मान गर्दै आफ्नो क्षेत्रको समृद्धिको लागि पाँच वर्षीय अनुभव र सिकाइको प्रयोग गर्ने बताउनुभयो। फरक भूमीकामा भएपनि जनप्रतिनिधिलाई निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ। 

बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पौडेल अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुन उपाध्यक्षमा  निर्वाचित हुनुभएको थियो। पाँच वटा वडा रहेको बरेङमा २ वटा वडा राजमो, २ वटा कांग्रेस र एउटा वडामा नेकपा (एमाले) विजयी भएको छ।