चित्र मिजार
सिन्धुपाल्चोक, वैशाख १८ गते । अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक अवरुद्ध हुन थालेपछि तातोपानी नाकाबाट राजधानी जान लागेका मालवाहक गाडी, यात्रुवाहक गाडी, साना–ठुला सवारी साधन बिच बाटोमै रोकिन थालेका छन् ।
बाह्रबिसे–कोदारी राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका–२ स्थित कोप्लाङ खण्डमा आज बिहान ५ बजेर ४० मिनेटका समयमा सडक भासिएको हो । निरन्तर पानी परिरहेकोले उक्त सडक खण्ड भासिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तातोपानी नाका जोड्ने उक्त खण्ड १५ फिटको सडक रहेको छ । अहिले ३ फिट सडक भासिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी सहायक निरीक्षक नेत्र बहादुर काफ्लेले बताउनु भएको छ ।
तातोपानी नाकास्थित बाह्रबिसे–कोदारी सडक खण्डको कोप्लाङ खण्डमा ३ फिट भासिएको सडक खण्ड । तस्बिर: गोरखापत्र