पुतलीबजार समाचारदाता
पुतलीबजार, वैशाख १८ गते । वालिङ नगरपालिका–१४ की ३६ वर्षीय गोलमाया परियार १७ महिनाकी छोरीकी आमा हुनुहुन्छ । सुरुमा उहाँलाई पोसिलो आहारबारे आवश्यक ज्ञान थिएन । बजारबाट महँगो पोसिलो खाना किनेर मात्र खानु पर्छ भन्ने भ्रम उहाँमा थियो । वालिङ नगरपालिकाले सञ्चालन गरेको ‘सुनौला हजार दिनका आमालाई पोसिलो आहार वितरण’ कार्यक्रममा सहभागी भएपछि गाउँघरमै उत्पादन भएका चिज मिलाएर पोषणयुक्त खाना बनाउन सकिने ज्ञान प्राप्त भएको उहाँ बताउनुहुन्छ ।
परियारले बताउनुभयो, “गर्भवती तथा सुत्केरी आमालाई खाने खाना महँगो हुन्छ भन्ने लाग्थ्यो । मिलाएर खान सकियो भने गाउँघरमै उत्पादन भएका वस्तु पोसिला हुँदा रहेछन् भन्ने ज्ञान पाएँ ।” वालिङ नगरपालिकाले सुनौला हजार दिनका आमालाई पोसिलो आहार वितरण गर्ने कार्यक्रम सञ्चालन गरेसँगै परियार जस्तै ७९७ सुनौला हजार दिनका आमा र बच्चा प्रत्यक्ष लाभान्वित भएका छन् । मातृशिशु स्वास्थ्य सुदृढ गर्न ‘उपप्रमुख पोसिलो झोला कार्यक्रम’ अन्तर्गत १४ वटै वडाका सुनौला हजार दिनका आमालाई आहार प्रदान गरिएको हो । यस कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलालाई चना, आयोडिनयुक्त नुन, अन्डा र सर्वोत्तम पिठो जस्ता पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ ।