तम्घास समाचारदाता
तम्घास, वैशाख १८ गते । गुल्मीको सदरमुकाम तम्घासमा रहेको थ्रिडी पार्क उपयोगविहीन भएको छ । पार्क बनेको लामो समयसम्म प्रयोगमा नआएका कारण पार्कमा घाँस पलाएको छ भने राज्यको लगानी रहेको संरचना यसै अलपत्र परेको छ ।
रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रुपियाँको लागतमा निर्माण भएको पार्क लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । निर्माणपश्चात् रेसुङ्गा नगरपालिकाले विभिन्न समयमा गरी १० लाखभन्दा बढी रकम मर्मतमा खर्चिएको छ । ६५ लाख रुपियाँभन्दा बढी खर्चिएको पार्कमा अहिले झार पलाएर झाडी बनेको छ । यसका साथै केही संरचना पनि भाँचिएका छन् भने पार्कमा सडक बालबालिकाले रजाइँ गर्ने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वयको अगाडि रहेको पार्क प्रयोगविहीन हुँदा र राज्यको लाखौँ रकम यसै खेर जाँदा पनि सरोकारवाला निकाय मौन छन् । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले थ्रिडी पार्क निर्माण गरेर राज्यको रकम दुरुपयोग भएको बताउनुभयो । नागरिकले सरकारलाई खबरदारी गर्ने पहिलेको लाँकुरी मञ्चलाई हटाएर निर्माण गरिएको संरचनाले राज्यको रकम दुरुपयोग हुनु र सञ्चालनमा नआउनु दुःखद भएको बताउनुभयो ।
केही महिना पहिले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पार्कलाई सञ्चालनमा ल्याउनका लागि आफूले पहल गर्ने बताए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखले कार्यालय प्रवेश गर्दा नजिकै रहेको पार्कको अवस्था देख्दा पनि देखेको नदेख्यै गर्नु दुःखद भएको यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफूले नगरपालिकासँग समन्वय गरिराखेको बताउनुभएको छ । सरकारी संरचनालाई यसै खेर जान नदिने उहाँको भनाइ छ । यता, रेसुङ्गा नगरपालिकाका प्रवक्ता रामजी पन्थीले तत्कालका लागि पार्क सरसफाइ गर्ने र सञ्चालनका बारेमा योजना बनाउने बताउनुभयो । सञ्चालनमा आउन नसक्नुका केही प्राविधिक कारण रहेकाले त्यसलाई हल गर्दै जाने गरी पालिकाले योजना बनाएको उहाँको भनाइ छ । उहाँले पार्कको संरक्षण गर्नु आफूहरूको दायित्व भएकाले दायित्वबाट आफू नपन्छिने बताउनुभयो ।