हुम्ला समाचारदाता
हुम्ला, वैशाख १८ गते । अहिले पनि छोरा जन्माउनका लागि दोस्रो विवाह गर्ने चलन कायमै रहेको छ । समाजमा घर र वंश जोगाउन छोरा हुनैपर्ने सामाजिक मान्यताका कारण पहिलो श्रीमतीबाट छोरा नजन्मिएपछि सहमतिमा कान्छी ल्याउने चलन हुम्लामा अहिले पनि कायम रहेको छ ।
सिमकोट गाउँपालिका–८ को खोल्सीगाउँका चित्र शाहीले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि सहमतिमै कान्छी श्रीमती ल्याउनुभयो । जेठी श्रीमती काली शाहीबाट तीन छोरी जन्मिएका तर छोरा नजन्मिएपछि उहाँले श्रीदेवी शाहीलाई कान्छी श्रीमतीका रूपमा भत्र्याउनुभयो । कान्छीबाट पनि लगातार दुई छोरी जन्मिए । पछि तेस्रो सन्तान छोराको जन्म भयो । उहाँको परिवारमा दुई श्रीमती, तीन छोरी र एक छोरा छन् ।
श्रीदेवीले छोरा जन्माउनकै लागि विवाह गरेका कारण अझै बच्चा जन्माउने चाहना रहेको बताउनुभयो । श्रीमान् शाहीलाई घरपरिवारबाट पनि दोस्रो विवाह गर्नका लागि बाध्य पारिएको थियो । घर र वंश जोगाउनका लागि पनि छोरा आवश्यक पर्ने भएका कारण परिवार र आफन्तबाट उहाँलाई दोस्रो विवाह गर्न बाध्य पारिएको थियो ।
सर्केगाड गाउँपालिका–३ को उनापानीका बर्ख महताराले पनि जेठी श्रीमतीबाट लगातार पाँच छोरी जन्मिएपछि दोस्रो श्रीमती विवाह गर्नुभयो । कान्छी श्रीमतीबाट तेस्रो सन्तानका रूपमा छोरा पाउनुभयो । उहाँले छोरा नभए घर नरहने सामाजिक मान्यताका कारण आफूले दोस्रो विवाह गरेको बताउनुभयो ।
उहाँहरू दुई जना प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यसरी छोराकै लागि दोस्रो विवाह गर्ने चलन हुम्लामा पहिलेदेखि नै हो । जिल्लाका सात वटै गाउँपालिकाको स्वास्थ्य शाखाबाट प्राप्त विवरण अनुसार यसरी छोराकै लागि दोस्रो विवाह गर्ने सङ्ख्या ३५ रहेको छ ।