हुम्ला समाचारदाता
हुम्ला, वैशाख १८ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने बोक्चे गौँडामा यतिखेर कडा चट्टान फोडेर सडकको स्तरोन्नति भइरहेको छ । यसअघि सडकको ग्रेड नमिलेको भन्दै उक्त खण्डको सडकको निर्माण गर्ने जिम्मा सरकारले सेनालाई दिएपछि सेनाले चट्टानी भिर विस्फोट गरेर सडक निर्माणलाई तीव्रता दिइएको हो ।
नेपाली सेनाको बोक्चे गौडा याङ्चुबगर सडक निर्माण दलका गुल्मपति अमृत पराजुलीले हाल बोक्चे गौँडामा दैनिक कडा चट्टानमा प्वाल खोप्ने, विस्फोट गर्ने र एक्साभेटरले सफा गर्ने काम भइरहेको बताउनुभयो । उहाँले बोक्चे गौँडामा चट्टान विस्फोट गरेर ग्रेड मिलाउने काम जारी रहेको र अझैँ १५ मिटर चट्टान तल झारेपछि सडकको ग्रेड मिल्ने जनाउनुभयो । ४० जना कामदारले बिहान ८ बजेबाट बेलुका ७ बजेसम्म प्वाल खोप्ने काम गरिरहेका छन् ।
एउटा एक्साभेटरले विस्फोट भएको स्थानमा सफा गर्ने काम गरिरहेको छ । दुई सय मिटर लामो भिरमा विस्फोट गर्नुपर्ने छ । यसका लागि डेढ महिना समय लाग्ने उहाँको भनाइ छ । उक्त भिरमा आठ मिटर चौडा सडक निर्माण गरिने छ । यता याङ्चु कुनाबाट पनि सडकको स्तरोन्नति गर्ने काम र चट्टान विस्फोट भइरहेको छ । उक्त क्षेत्रको दुई सय मिटर सडकको स्तरोन्नति गर्ने काम पूरा भएको छ । गत चैत २५ गतेबाट सो क्षेत्रको सडकको निर्माण सेनाले सुरु गरेको थियो । वैशाख १० बाट १३ गतेसम्म यात्रुलाई आउजाउ गर्न र विकास निर्माण तथा अन्य दैनिक उपभोग्य सामान ढुवानीका लागि यातायात सेवा नियमित गरिएको थियो ।
सेनाले काम गरिरहेको बोक्चे गौ“डा सडकखण्डको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवराज शाही र प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले सडक निर्माण स्थलमा पुगेर अनुगमन गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख शर्माले सेनाले कामलाई तीव्रता दिइरहेको बताउनुभयो ।