• १९ वैशाख २०८२, शुक्रबार

सार्वजनिक सुनुवाइमा जनताका प्रश्न

blog

छेडागाड नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख १८ गते  । यहाँको छेडागाड नगरपालिकाले प्रवाह गर्ने वस्तु तथा सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन, जनताको गुनासो आत्मसात् गरी आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण गर्न सार्वजनिक सुनुवाइ गरेको छ । सेवाप्रदायक निकायका प्रमुख र सेवाग्राही जनताबिच हाकाहाकी बहसमा सर्वसाधारणले सेवाको गुणस्तर बढाउन सरोकारवालालाई सुझाव दिएका छन् । 

छेडागाड नगरपालिकाले प्रवाह गर्ने सेवामा सुधार ल्याउन जनताको अपेक्षा अनुसार कार्यक्रम तथा योजना निर्माणमा सहयोग पुग्ने लक्ष्य अनुसार काम गर्न सार्वजनिक सुनुवाइमा सेवाग्राहीले सरोकारवाला निकायलाई सुझाव दिएका हुन् । छेडागाड नगरपालिका–१० का राजीव शाहले स्थानीय सरकारले ग्रामीण बस्ती सडक सञ्जालमा जोड्न खनिएका सडक मर्मत गर्नुपर्ने, युवालक्षित कार्यक्रम ल्याउनुपर्ने, लागुऔषध सेवन तथा ओसारपसार बढ्दै गएकाले रोकथामको उपाय अपनाउनुपर्ने बताउनुभयो । 

यस्तै उहाँले खोलामा बगेको पानी सिँचाइमा प्रयोग गर्नुपर्ने, सहाराविहीन बालबालिका विद्यालयसम्म पु¥याउने, ग्रामीण बस्तीमा विद्युत् विस्तार गर्न पहल गर्नुपर्ने, सामुदायिक विद्यालयको पठनपाठन तथा बसाइ व्यवस्थापन गुणस्तरीय बनाउनुपर्ने, स्वास्थ्य चौकीमा सरकारले निःशुल्क रूपमा तोकेका औषधीको पर्याप्त हुनुपर्ने उहाँले बताउनुभयो ।  

अर्का स्थानीय कृष्णबहादुर बुढाले तरकारी तथा फलफूल उत्पादन वृद्धि हुँदै गए पनि ग्रामीण बस्तीका सडक मर्मत नहुँदा स्थानीय वस्तु ढुवानीमा समस्या हुने गरेको बताउनुभयो । गाउँमा सडक पुगे पनि सवारीसाधन पुग्न नसक्ने अवस्थाका सडक भएकाको हुँदा स्थानीय तहले तत्काल मर्मत गरी सहज बनाउनुपर्ने सुझाव उहाँले राख्नुभएको छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्न समस्या भएको हुँदा तत्काल सडक मर्मत गर्नुपर्ने उहाँको भनाइ छ । 

छेडागाड नगरपालिका–८ का पृथ्वीबहादुर बुढाले स्वास्थ्य चौकी भवन निर्माण भए पनि सामान्य बिरामीले उपचार नपाउँदा बाहिर जानु परेको गुनासो गर्नुभयो । भूकम्पपीडितले अस्थायी आवासको दोस्रो किस्ता पाउन नसकेको भन्दै उहाँले दोस्रो किस्ता रकम र पुनर्निर्माणको काम अघि बढाउन पहल गर्न जोड दिनुभयो । छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले स्थानीय तहको पहुँचमा रहेका योजना कार्यक्रम सुधार गर्दै गएको दाबी गर्नुभयो ।