• १९ वैशाख २०८२, शुक्रबार

पहिरोको उच्च जोखिममा बस्ती

blog

बाजुरा समाचारदाता

बाजुरा, वैशाख १८ गते । बाजुराको खप्तडछेडेदह गाउँपालिका–७ का गुम्लावासी बस्ती स्थानान्तरणको पर्खाइमा छन् । विसं २०२२ देखि पहिरोको उच्च जोखिममा रहेको गुम्ला गाउँको बस्ती अझै स्थानान्तरण हुन सकेको छैन । लामो समयदेखि बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्यान जोगाउनसमेत कठिन हुने गरेको छ ।

त्यहाँका बासिन्दाले ज्यान जोगाउन साइरनको सहारा लिएका छन् । साइरनले पहिरो आएको/गएको बारेमा जानकारी दिने भएकाले उनीहरू यसैको सहारामा गाउँमा बस्ने गरेका हुन् । मेसिनले पहिरो आएका बेला झन्डै एक किलोमिटर टाढासम्म आवाज दिने गर्छ । बजेडीका स्थानीयलाई मात्र नभई खप्तडछेडेदह गाउँपालिकाको गुइबनवासीलाई पहिरोबाट सतर्क रहन साइरनले काम गरिरहेको बुढीगङ्गा नगरपालिका–२ का स्थानीय धर्माराज जोशीले बताउनुभयो । वर्षायाममा त कहालीलाग्दो अवस्था हुन्छ । हिउँदको सुक्खा समयमा पनि यहाँ पहिरो निरन्तर बगिरहन्छ । यहाँ झन्डै दुई सय घरपरिवारको बसोबास छ । अहिले आधा गाउँको उठिबास भइसकेको छ । पहिरोले बस्ती खाली गर्दै गएको छ तर पनि यहाँ कसैको नजर गएको छैन ।

खप्तडछेडेदह गाउँपालिका–७, गुम्लागाउँका स्थानीय विष्णुबहादुर रावतले भन्नुभयो, “बाध्यताले यहाँ बसोबास गरेका छौँ । यहाँदेखि उठेर जाउ भने जाने ठाउँ कतै छैन । यही पहिरोसँग मितेरी लगाएर सँगै बस्ने गरेका छौँ । कुन दिन मित्रता टुट्ने हो, थाहा छैन ।”

पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार विस्थापित भइसकेका छन् भने १३५ घरपरिवार उच्च जोखिममा छन् । पहिरोका कारण झन्डै सात हजार रोपनी जमिन बगरमा परिणत भएको छ भने अझै पहिरो नरोकिएकाले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था कायम छ ।

पहिरोको जोखिम परेर स्थानान्तरण गर्नुपर्ने गाउँबस्तीलाई स्थानान्तरणका लागि गृह मन्त्रालयमा जानकारी गरेको भए पनि उताबाट कुनै खबर नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।