काठमाडौँ, वैशाख १७ गते । च्यासल युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्ती युवा क्लबमाथि सानदार जित निकालेको छ ।
एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा च्यासलले नयाँ बस्तीलाई ४–२ गोलले हरायो । च्यासलको जितमा निरज कार्कीले १०औँ, सुवास बमले २३औँ र कुशल देउवाले ७८औँ मिनेटमा गोल गर्नुभयो । यसअघि च्यासलले १८औँ मिनेटमा नयाँबस्तीबाट एक गोल उपहार पाएको थियो ।
यस्तै नयाँ बस्तीका लागि पूर्णबहादुर गुरुङले २५औँ र जमिन लकसमले ८९औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै च्यासलले नौ खेलबाट १४ अङ्क बनाएको छ । पराजित नयाँ बस्तीको आठ अङ्क छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ ।
लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।