• १७ वैशाख २०८२, बुधबार

पूर्वाधार विकासका सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह महायज्ञमा आफ्नो भनाइ राख्नुहुँदै । तस्बिर :राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), वैशाख १७ गते ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सिद्धार्थ राजमार्गको स्त्तरोन्नतिको प्रसङ्ग प्रति लक्षित गर्दै उपप्रधानमन्त्री सिंहले पूर्वाधार विकास योजनाबद्ध रूपमा गरिँदै आएको बताउनुभयो । 

स्याङ्जाको वालिङमा श्रीमद् भागवत सप्ताह ज्ञान तण्डुलाचल तथा धार्मिक अनुष्ठानको शुभारम्भ गर्नुहुँदै मन्त्री सिंहले तीन तहको सरकार, जनप्रतिनिधि र नागरिको सहभागितामा विकास प्रभावकारी हुने स्पष्ट पार्नु भयो । 

नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले समाजलाई व्यवस्थापन गर्न धर्मले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मले मानिसलाई संस्कार र संस्कृति सिकाउँछ र आफै निर्णय गर्न सक्ने बनाउँछ ।” गर्न हुने र नहुने काम आफैँ छुट्याउन सक्षम बनाउनु धर्मको महत्त्वपूर्ण पक्ष भएको उहाँको भनाइ छ । 


पछिल्लो समय समाज नकारात्मक भएको तर्फ लक्षित गर्दै मन्त्री सिंहले समाजलाई सकारात्मक बनाउन धर्मको महत्त्वपूर्ण योगदान रहेको स्पष्ट पार्नुभयो । 

स्याङ्जासँग आफ्नो पुरानो साइनो रहेको भन्दै सिंहले जिल्लाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महायज्ञ शुभारम्भका अवसरमा सङ्घीय सांसद राजु थापाले सिद्धार्थ राजमार्गको स्त्तरोन्नतिका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । जिल्लामा धेरै धार्मिक पर्यटकीय क्षेत्र रहेको भन्दै सांसद थापाले यिनीहरूको संरक्षण र प्रचारप्रसारमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

यस्तै गण्डकी प्रदेश सभाका सांसदहरू सरस्वती तिवारी र महेश भट्टराई पूर्व सांसद मेखलाल श्रेष्ठ, समाजसेवी तथा उद्योगी डोलराज शर्मा पङ्गेनी, वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, खगेन्द्रप्रसाद अर्याल, भूपराज बगाले लगायतले धर्मसंस्कार र महायज्ञको बारेमा बोल्नुभएको थियो । स्याङ्जाको वालिङमा रहेको केदारनाथ क्षेत्रलाई शिव धाम निर्माण गर्ने योजनाका साथ वालिङमा महायज्ञ सुरु गरिएको हो ।


योगी नरहरि नाथलेद्वारा नामाकरण गरिएको वालिङ नगरपालिका–८ को केदारनाथ मन्दिरलाई स्त्तरोन्नति गरी धाम निर्माण गर्ने दीर्घकालीन योजना रहेको महायज्ञ आयोजक समितिका संयोजक दिलिपप्रताप खांणले बताउनुभयो । सिद्धार्थ राजमार्गसँगै रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आयोजकको भनाइ छ । 

उपप्रधानमन्त्री सिंहले केदारनाथ मन्दिर तथा प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र गह्रौंसुरमा रहेको कालिका मन्दिरको समेत दर्शन गर्नुभएको छ । वैशाख २३ गतेसम्म सञ्चालन हुने महायज्ञले वालिङमा केदारनाथ धाम स्थापनाका लागि आधार तयार गर्ने आयोजकको भनाइ छ ।