• १५ असार २०८१, शनिबार

नेपालमै छापिँदै अन्तःशुल्क स्टिकर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २५ गते । आगामी आर्थिक वर्षदेखि अन्तःशुल्क स्टिकर नेपालमै छापिने भएको छ । सुरक्षण मुद्रण केन्द्रको काभे्रस्थित सूचना प्रविधि पार्कमा रहेको मुद्रण भवनबाट अन्तःशुल्क स्टिकर छापिने भएको हो । यसका लागि आवश्यक जनशक्तिको पदपूर्ति प्रक्रियाका अगाडि बढाइएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले जानकारी दिनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित एक कार्यक्रममा उहाँले करिब ५० करोड अन्तःशुल्क स्टिकर नेपालमै छाप्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । “उपलब्ध दुईवटा मेसिनबाट ५० करोडसम्म स्टिकर छाप्न सक्ने क्षमता हुनेछ,” उहाँले भन्नुभयो । यसका लागि अर्थ मन्त्रालयले कच्चा पदार्थ खरिदमा आवश्यक बजेट विनियोजन गरिदिनुपर्ने उहाँको भनाइ छ । 

नेपालका लागि वार्षिक करिब चार अर्ब अन्तःशुल्क स्टिकर आवश्यक पर्छ । यद्यपि पर्याप्त मेसिन नहुँदा मागबमोजिम सबै स्टिकर तत्काल छाप्न सम्भव नभएको पौडेलले स्पष्ट पार्नुभयो । मागअनुसारको स्टिकर छपाइ गर्न आठवटा मेसिन आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । अन्तःशुल्क स्टिकर छपाइमा नेपालबाट बर्सेनि करोडौँ रुपियाँ बाहिरिने गरेको छ ।  

पासपोर्ट तथा महìवपूर्ण सरकारी कागजातसमेत प्रकाशन गर्न सक्ने गरी सरकारले ३३ अर्ब रुपियाँमा सुरक्षण मुद्रण केन्द्र स्थापना गर्ने प्रक्रिया अघि सारेको थियो । यद्यपि अहिलेसम्म डेढ अर्ब रुपियाँ मात्र बजेट प्राप्त भएको पौडेलले जानकारी दिनुभयो । बजेट तथा कर्मचारी अभावमा सुरक्षण मुद्रणको धेरै काम बाँकी रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले इम्बोस्ड नम्बर प्लेटका सन्दर्भमा आफ्नो विषयमा अनावश्यक दुष्प्रचार भएको बताउनुभयो । कम्प्युटर इन्जिनियरका रूपमा सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटको डिजाइनमा आफूले सहयोग गरे पनि त्यसपछिका कुनै पनि प्रक्रियामा आफ्नो संलग्नता नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

“बोलपत्रको प्रक्रियामा त्यसको ठेक्का नपाएका पक्षले मेरो नाम जोडेर बदनाम गर्ने प्रयास गरेका छन्,” उहाँले भन्नुभयो, “कानुनसम्मत भएका सबै प्रक्रियामा मेरो कतै दोष भए कारबाही भोग्न तयार छु” । पछिल्लो समय सूचना प्रविधिसँग सम्बन्धित विभिन्न परियोजनामा आफ्नो संलग्नता नै नभए पनि बदनामी गर्ने प्रयास भएकोमा उहाँको आपत्ति थियो ।