• १६ वैशाख २०८२, मङ्गलबार

विदेशी पर्यटकले भरिभराउ मन्थली

blog

सगरमाथा क्षेत्रतर्फ जान आएका पर्यटक मन्थलीमा आराम गर्दै ।

रामेछाप समाचारदाता

रामेछाप, वैशाख १६ गते  ।  यतिबेला सर्वोच्च शिखर सगरमाथामा वसन्त ऋतुको आरोहण चलिरहेको छ । यही कारण रामेछापको मन्थली विमानस्थल आरोहण तथा ट्रेकिङमा जाने विदेशी पर्यटकले भरिभराउ छ । सरकारले वसन्त ऋतुको मौसम चैतदेखि जेठसम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थली विमानस्थलबाट सगरमाथा क्षेत्र भ्रमणका लागि आएका पर्यटकलाई सोलुखुम्बुको लुक्ला लैजाने र ल्याउने व्यवस्था गरेको छ । 

यो दुई सिजनमा गरी झन्डै छ महिना मन्थली बजारमा विदेशी पर्यटकको चहलपहल हुने गरेको हो । मन्थली विमानस्थलका अनुसार यहाँबाट लुक्लाका लागि दैनिक ४० वटासम्म उडान भइरहेका छन् । २०३४ सालमा निर्माण भएको मन्थली विमानस्थलबाट सरकारले २०७५ चैत १८ देखि सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई लुक्ला लाने र ल्याउने व्यवस्था गरेको छ । यो विमानस्थलका कारण मन्थलीमा ठुला लगानीका होटेल÷रिसोर्ट सञ्चालनमा आउन थालेका छन् । पुराना होटेलले पनि आफ्ना सेवासुविधा गुणस्तरीय बनाउँदै लगेका मन्थलीका होटेल व्यवसायी शेखरमान श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मन्थलीमा विदेशी पर्यटकलाई लक्ष्य गरी होटेलको सेवासुविधा विस्तार भइसकेको छ । अन्य सुविधासम्पन्न होटेल खुल्ने व्रmममा छन् । सुरुका वर्षहरूमा जस्तो पर्यटकलाई मन्थलीमा बस्न र खान कुनै समस्या छैन ।” मन्थलीमा एक हजारभन्दा बढी पर्यटकलाई रोजाइ अनुसारका बस्ने र खाने होटेल तथा रिसोर्ट सञ्चालन भइसकेको उहाँले बताउनुभयो । 

सगरमाथा क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई लक्ष्य गरी लगानी बढाउन र सेवा थप गुणस्तरीय बनाउन लागिपरेको रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्थलीमा विदेशी पर्यटकलाई लक्ष्य गरी होटेल क्षेत्रमा लगानी बढ्दो व्रmममा छ । अन्य सानाठुला होटेलबाहेक पाँच सय क्षमताका तीन वटा रिसोर्ट सञ्चालनमा छन् । थ्री स्टार लेबलको होटेल सञ्चालनको तयारी भइरहेको छ ।”

मन्थली विमानस्थललाई स्थायी रूपमा सञ्चालन गर्न स्थानीय सरकारले आवश्यक पहल गरिरहेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सरकारले सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई लुक्ला लान र ल्याउन मन्थली–लुक्ला उडानको व्यवस्था गरेको छ । मन्थली–लुक्ला उडानसहित मन्थली–काठमाडौँ स्थायी उडान गर्न नगरपालिकाले पहल गरिरहेको छ ।” मन्थली विमानस्थलबाट आवतजावत गर्ने पर्यटकलाई ध्यानमा राखेर आसपासमा रहेका पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा मन्थली नगरपालिकाको ध्यान गएको उहाँको भनाइ छ । मन्थलीमा रहेका होटेल गुणस्तरीय बनिसकेका र होटेल क्षेत्रमा लगानी भित्रिने क्रम जारी रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।