अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख १५ गते । १६ महिनादेखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता भएपछि रघुगङ्गा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।
गाउँपालिकाभित्र रहेका १५ महिना मुनिका १४९ जना बालबालिकाहरूले नियमित खोप लगाइरहेको र १६ देखि २७ महिना भित्रका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चिता भएपछि पालिकालाई पूर्णखोपको दीगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको हो ।
गाउँपालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरूले पनि नियमित खोप लगाइरहेको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत प्रेमचन्द्रप्रसाद जैसवालले बताउनुभयो । ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित एक समारोहबिच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरूले सबै खोपको मात्रा पूरा गरेका थिए । त्यस्तै खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरू पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दीगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुखले बताउनुभयो ।
बालबालिकाहरूले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको ब्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो ।