घोराही, वैशाख १४ गते। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले चाहे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताउनुभएको छ।
नेपाल प्रेस युनियन दाङ शाखाले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले जनतामा अपेक्षा धेरै भएको तर सरकारले सीमित स्रोत र साधनबाट काम गर्नुपर्दा धेरै उपलब्धी हासिल गर्न नसकिएको बताउनुभएको हो।
अर्थतन्त्र कमजोर हुँदा सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने सरकारलाई बाध्यता भएको भन्दै पत्रकार सम्मेलनमा प्रवक्ता महतले भन्नुभयो,‘अर्थतन्त्रको खराब अवस्थाका कारण सोचे जति काम गर्न सक्ने अवस्था छैन। जसका कारण जनतामा निराशा छ। भनेको समय केही हुँदैन भन्ने भ्रम छ।’
जनतामा भएका निराशालाई चिर्दै राजनीतिक स्थायित्व र समृद्धिका लागि देशका प्रमुख पार्टी कांग्रेस र एमाले मिलेर सरकार गठन भए पनि अपेक्षा गरे अनुसार काम हुन नसकेको बताउनुभयो। उहाँले तिनै तहका सरकारले समन्वय गरेर ठुला योजना संघीय सरकार, मझौला योजना प्रदेश सरकार र साना योजना स्थानीय सरकारले बजेट विनियोजन गरेर अघि बढ्न सके योजना अलपत्र नपर्ने र काम देखिने समेत बताउनुभएको थियो।
सरकारको गति बढाउँदै सुशासन, विकास निर्माणसँगै जनतालाई दिने सेवा प्रवाहमा सहज ल्याउन सक्ने भए पनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसेकेको बताउनुभएको हो।
सरकारले जायज मागलाई सम्बोधन गरेर शिक्षकलाई कार्यक्षेत्रमा पठाउनुपर्ने बताउनुभयो। आफ्ना माग पुरा गर्ने नाममा आन्दोलन गरेर शिक्षकले पठनपाठन र कक्षा १२ को जाँच नै प्रभावित पार्नु गलत भएको भन्दै प्रवक्ता महतले शिक्षकका जायज माग सम्बोधन गर्नुपर्ने पक्षमा कांग्रेस रहेको बताउनुभएको थियो। त्यसका लागि सरकारको भूमिका प्रभावकारी हुनुपर्ने भए पनि नदेखिएको बताउनुभयो।
प्रवक्ता महतले संक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देशन गर्न सक्ने योग्य व्यक्तिलाई गर्भनर नियुक्त गर्न सरकारले ढिलाई गर्न नहुने बताउनुभएको छ।
सहकारी प्रकरणमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै प्रवक्ता महतले उक्त रकम सम्बन्धित व्यक्तिबाटै अशुलउपर गरी बचतकर्तालाई फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताउनु भएको छ।