निराजन परियार
चौमाला (कैलाली), जेठ १७ गते । बर्खे, हिउँदे मकैको खेती गर्दैआएका कैलालीका किसान बसन्ते मकै खेतीतर्फ आकर्षित भएका छन् । कैलालीको गौरीगंगा नगरपालिकाका किसानहरू परम्परागत खेतीको सीमा पार गर्दै व्यावसायिक कृषितर्फ उन्मुख भइरहेका छन् ।
गौरीगंगा नगरपालिका –१ का किसान प्रेमबहादुर थारूले पहिले परम्परागत रूपमा मकै खेती गर्दैआएका उहाँले व्यावसायिक रूपमा बसन्ते मकै खेतीमा लागेको बताउनुभयो । विगत दुई वर्षदेखि उहाँले १९ कठ्ठा जमिनमा बसन्ते मकै खेती गर्दै आउनुभएको छ । उहाँले बसन्ते, बर्खे र हिउँदे समयमा समेत मकै लगाउने गरेको जानकारी दिनुभयो ।
पर्याप्त सिँचाइ नभएका कारण हिउँदे खेती नगर्ने कैलालीका कृषक केही वर्ष यता बढ्दो विद्युतीकरणसँगै हिउँदे र बसन्ते मकै खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
पहिला दुई सिजन मात्र खेती हुने गरेको कैलालीमा अहिले हिउँदको समयमा मात्र दुई सिजन मकै खेती हुने गरेको छ । खेत खेतमा सिँचाइ सुविधा भएपछि कृषकले मङ्सिर र माघमा दुई पटक मकै खेती गर्ने गरेका छन् । वर्षाको समयमा लगाइने मकैभन्दा हिउँदको समयमा लगाइने मकैको उत्पादन बढी हुने भएपछि कृषकले हिउँदे मकै लगाउन थालेका हुन् ।
गाउँ गाउँमा बिजुली बत्तीको विकाससँगै यतिबेला कैलालीमा खेतबारीमा हरियो मकै देख्न सकिन्छ । पहिले धान खेतीमा निर्भर हुने गरेका कृषक खेतबारीमा बिजुली पुगेसँगै मकै उत्पादनमा लागेको गौरीगंगा नगरपालिकाका स्थानीय पूर्णबहादुर बुढा मगरले बताउनुभयो । उहाँले पर्याप्त पानी भएमा खेतबारीमा मकै उत्पादन राम्रो हुने र एउटै बोटमा पनि तीन–चार वटासम्म घोगा लाग्ने र उत्पादन भएको मकै सजिलै बिक्री पनि हुने भएकाले आफूहरूले हिउँदे मकै खेती गर्न थालेको बताउनुभयो ।
उहाँले गत बर्ष बसन्ते मकैबाट ऋण तिरेर तीन लाख रुपियाँ बराबरको कारोबार गरेको बताउनुभयो । उहाँका अनुसार एक बोटमा २ देखि ७ वटा घोगा फलेको छ, यो वर्ष अघिल्ला वर्षभन्दा राम्रो कमाइ हुने बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रबाट प्राप्त बीउ अनुदान र नियमित प्राविधिक सहयोगले समय–समयमा कृषि ज्ञान केन्द्रका प्राविधिकहरू आएर सल्लाह सुझावले थप हौसला मिलेको बताउनुभयो ।
त्यसैगरी कृषि ज्ञान केन्द्र कैलालीका निमित्त कार्यालय प्रमुख टेकबहादुर बिष्टका अनुसार हाल जिल्लामा ९ सय हेक्टर क्षेत्रमा बसन्ते मकै लगाइएको छ । प्रतिहेक्टर ३ सय ५० मेट्रिक टन उत्पादन भइरहेको छ । यो वर्ष उत्पादन राम्रो भएकाले आगामी वर्षहरूमा यो अझै बढ्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार आर्थिक वर्ष २०८२–८३ मा १० जना किसानलाई बृहत, बसन्ते मकै कार्यक्रम अन्तर्गत समावेश गरिनेछ । तीन वर्षको लक्ष्यअनुसार ३ हजार हेक्टर क्षेत्रफलमा बसन्ते मकै खेती विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।