• १५ वैशाख २०८२, सोमबार

पृथ्वीराजमार्ग विस्तार : दमौलीमा दोस्रो चरणको कालोपत्रे

blog

दमौलीमा दोस्रो चरणको कालोपत्र गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

दमौली, वैशाख १४ गते । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा दोस्रो चरणको कालोपत्रे धमाधम भइरहेको छ । जस अन्तर्गत गल्वुवेसीचोकदेखि बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र पुरा भएको छ । 

केही समय अगाडि सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि आइतबार दोस्रो चरण९डबल लियर०को कालोपत्र पुरा गरिएको हो । व्यास नगरपालिका-१ को गल्वुवेसी, छाब्दीवाराही मन्दिर जाने चोकदेखि बुल्दीखोलामाथि बनेको पुल माथि र मालेबगरसम्म ‘डबल लेयर’को कालोपत्र पुरा गरिएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

आयोजनाका अनुसार दोस्रो चरणको एक किलोमिटर कालोपत्र गरिएको छ । दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ । दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम चलिरहेको । मुग्लिन पोखरा सडक आयोजनाको पूर्वीखण्ड आँबुखैरेनीदेखि जामुनेसम्म ४१ किलोमिटर सडकको ठेक्का चिनिया कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले रु ६ अर्ब २१ करोड रुपियाँमा लिएको छ । सो कम्पनीले २०७८ वैशाख २ गतेदेखि काम सुरु गरेको हो । 

हाल यस खण्डमा ८२ दशमलव ९५  प्रतिशत काम पुरा भएको मुग्लिन पोखरा सडक आयोजनाका पूर्वीखण्ड सूचना अधिकारी पाण्डेले बताउनुभयो । दमौली बजारमा घर भत्काउन ढिलाई गरेकोले काम प्रभावित भएको सहज बनाउन पर्याप्त जनशक्ति परिचालन गरी धमाधम काम भइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी जामुनेदेखि पोखरा सडक खण्डको ३८ किलोमिटर सडक विस्तार चिनियाँ कम्पनी एनहुई केयुनन हाइवे एण्ड ब्रिजले पाएको छ । कम्पनीसँग २०७८ जेठमा पश्चिम खण्ड विस्तार गर्न रु सात अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको र हालसम्म यसको ४९ दशमलव ३४ प्रतिशत काम भएको आयोजनाको पश्चिम खण्डकले जनाएको छ ।