• १५ वैशाख २०८२, सोमबार

सात वर्ष बित्दासमेत सञ्चालनमा आएन ‘महेन्द्रनगर सभागृह’

blog

महेन्द्रनगर सिटी हल । तस्बिर : भवानी दत्त भट्ट

भवानी दत्त भट्ट
बेलौरी(कञ्चनपुर), वैशाख १४ गते ।
पटक–पटक म्याद थप्दै बनेको ‘महेन्द्रनगर सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ । वर्षौ समय लगाएर आठ करोड ५१ लाख रुपियाँमा निर्माण गरिएको सिटी हल (सभागृह) सञ्चालन र व्यवस्थापन गर्न स्थानीय सरकारले समयमै आवश्यक कार्यविधि नबनाउँदा अन्यौलता देखिएको हो ।

वि.सं. २०६५ देखि निर्माण थालेको श्याम सुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीले  २०७५ जेठ अन्तिम साता सिटी हल निर्माण कार्य सम्पन्न गरेको थियो । त्यसको दुई वर्षपछि भीमदत्त नगरपालिकाले सभागृह सञ्चालनको जिम्मा पाएको थियो । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साढे पाँच बिघा जमिनमा पर्खाल लगाएर सभागृह निर्माण गरिएको छ  ।

अपाङ्गमैत्री सिटी हलमा करिब एक हजार जना अटाउने क्षमताको छ । तीन तले सिटी हलमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउन्ड पार्किङको सुविधा पनि रहेको छ । तर निर्माण सम्पन्न भएको सात वर्ष बिसक्दा समेत सभागृह सञ्चालनमा ल्याउन सकिएको छैन ।

सिटी हल निर्माण सम्पन्न भए पनि विगतमा कार्यविधि तयार नगरिँदा समस्या भएको भीमदत्त नगर विकास समितिका सूचना अधिकारी लक्ष्मण दत्त जोशीले बताउनुभयो । गत वर्ष मात्रै सिटीहल सञ्चालनका निम्ती कार्यविधि तयार गरिएको थियो । कार्यविधि तयार गरेर छलफल भएर नगर विकासबाट पास भएको भीमदत्त नगरपालिकाका कानुन अधिकृत वीरेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । कार्यविधि अनुसार, सभागृह तेस्रो पक्षले पनि सञ्चालनमा ल्याउन सक्ने व्यवस्था गरिएको छ ।

तथापि, सञ्चालनका लागि कार्यविधि तयार गरिए पनि कुन योजनामा सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सभागृह सञ्चालनको विषय अन्यौलमा रहेको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिंह धामीले बताउनुभयो । ‘‘कार्यविधि त तयार भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘तर कति वर्षका लागि सञ्चालनको जिम्मा दिने, त्यसको मापदण्ड, योजना, दररेट के कति हुने अभैm टुङ्गो लाग्न सकेको छैन ।’’

नगर विकास समितिको बैठकले स्पष्ट मापदण्ड तयार पारेर टुङ्गोमा नलगाउँदा अझै सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको सूचना अधिकारी धामीले बताउनुभयो । यद्यपि वैशाख अन्तिम साता बस्ने नगर विकास समितिको बैठकले अन्तिम टुङ्गो लगाइसक्ने उहाँले जानकारी दिनुभयो ।

राज्यको ठुलो रकम खर्च भएर बनेको सिटी हललाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सरकारले चाँडोभन्दा चाँडो कार्य अगाडि बढाउनुपर्ने उद्योग वाणिज्य संघ कञ्चनपुरका पूर्वअध्यक्ष जङ्ग मल्लले बताउनुभयो । ‘‘सुविधा सम्पन्न सिटी हल त बन्यो, तर कसले सञ्चालन र व्यवस्थापन गर्ने भन्ने कुरा अहिलेसम्म अन्योल छ,’’ उहाँले भन्नुभयो, ‘‘ हालसम्म सञ्चालनमा नआउँदा बजारले घाटा सहनुपर्ने अवस्था रहेको छ, जुन दुःखद पक्ष हो ।’’

निजी क्षेत्रसँग सहकार्य गरेर सिटीहल सञ्चालनमा ल्याइनुपर्ने उहाँले बताउनुभयो ।  निजी क्षेत्रलाई जिम्मेवारी दिँदा नगर विकासले ख्याल गर्नुपर्ने पनि उहाँले बताउनुभयो । निजी क्षेत्रलाई जिम्मा सरकारले नीति गतरूपमा बैँक ज्ञारेन्टी दिएर मात्रै जिम्मा दिइनुपर्ने उहाँको सुझाव छ ।

सञ्चालनको जिम्मा पाएको भीमदत्त नगर विकास समितिले समयमा कार्यविधि नबनाउदा सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको हो । 

निर्माण सम्पन्न भएपछि नगर विकास समितिले २०७८ भाद्र महिनामा निजी ट्रान्सर्फमसहित बिजुली जडान गरेको थियो । सञ्चालनमा ल्याउन नसकिने भएपछि २०७९ फागुनमा नगर विकास समितिले विद्युत् मिटर खारेज नै गरेको थियो । झण्डै डेढ वर्षको अवधिमा नगर विकास समितिले आठ लाख ४८ हजार बिजुलीको बक्यौता तिरेको थियो । सात वर्ष पहिले निर्माण सम्पन्न भएको सिटीहल सञ्चालनमा नआउदा एकातिर जीर्ण बन्दै गएको भन्दै व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन् ।