• २८ मङ्सिर २०८२, आइतबार

नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो

blog

उमा कुङफु खेलको प्रदर्शन गर्दै खेलाडी ।

काठमाडौँ, वैशाख १४ गते । नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । नेपाल उमा कुङफु सङ्घको आयोजनामा आइतबार विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

शङ्खपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता उसुका आङबाबु लामा र सहभागीले प्रदर्शनी खेल प्रस्तुत गर्नुभएको थियो । आङबाबु, उमा कुङफु सङ्घका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राई, उपाधयक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्र गुरुङले कार्यक्रममा उपस्थितलाई ताइची तथा छिकुङको महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।

सोही अवसरमा सङ्घले विगत लामो समयदेखि यो खेलमा संलग्न श्यामप्रसाद गौतमको अध्यक्षतामा नौ सदस्यीय शङ्खपार्क ताइची तथा छिकुङ शाखा गठन गरेको थियो ।सङ्घले पाँच दशकदेखि यो खेलमा क्रियाशिल उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।

नेपाल ताइची क्वान् महासङ्घका अध्यक्ष कर्मा लामा, अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, उपाध्यक्ष रमेश महर्जनलगायतले मुख्य प्रशिक्षक श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गर्नुभयो । 

‘एकै विश्व, एकै स्वास’ भन्ने नारासहित १९९९ देखि विश्वका विभिन्न देशमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विगत २० वर्षदेखि विविध कार्यक्रम गरी दिवस मनाउन थालिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।