टोपलाल अर्याल
रेसुङ्गा, वैशाख १३ गते । चित्र हेरर मख्ख छत्रदेव गाउँपालिका–५ अर्घाखाँचीका ५४ वर्षीय शेखर पाण्डेय लगभग पाँच वर्षमा तम्घास आउनुभयो । बसाइसराईले गाउँ छोडेपछि तम्घास आउ–जाउ पनि कम भयो । रेसुङ्गानै नपुगेका त धेरै वर्ष भएका थिए । अहिले आफन्त भेटघाटसहित रेसुङ्गा पुगेर फर्किएका पाण्डेयलाई प्रशासनको वालमा बनेका चित्रले रेसुङ्गाकै झल्को दियो । “चित्र पनि सूचना हो । बुझे धेरै कुरा लुकेका हुन्छन,” उहाँले भन्नुभयो, “रेसुङ्गाको पहिचानलाई चित्र उत्कृष्ट छन् ।”
पछिल्लो समय धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाई बन्न थालेको छ । साउनभर रेसुङ्गामा साउने मेला लाग्छ । विभिन्न समयमा हुने यज्ञ तथा एकादशी बाहेक पनि रेसुङ्गा आउनेहरूको सङ्ख्या बढिरहेको छ । तम्घासबाट गाडी चढेपछि १५ मिनेटमा रेसुङ्गा गर्जुरा पार्कमा पुगिन्छ । अहिले धेरैलाई पार्कले भुलाउने गरेको छ । खेल्ने, फोटा खिच्ने र बस्ने आनन्दको ठाउँ भएकाले रेसुङ्गा गर्जुरा पार्कमै धेरैले दिन कटाउँछन् ।
रेसुङ्गा गर्जुरा पार्क रेसुङ्गा नगरपालिकाले सञ्चालन गरिरहेको छ । पार्कको काउन्टरमा कार्यरत नविन कुँवरका अनुसार नयाँ वर्षकै दिन मात्र एक हजार सात सयभन्दा बढीले टिकट लिए । गत वर्ष नयाँ वर्षमा दुई हजार तीन सयभन्दा बढी पार्कमा आएको कुँवरले बताउनुभयो । कुँवरका अनुसार सरदर दैनिक ५० जना पार्कमा आउने गर्छन् । रेसुङ्गा गर्जुरा पार्क, गौशाला, पोखरी, आर्कषक सिँढी, सानो रेसुङ्गा, सीताराम मन्दिर र यज्ञशाला रेसुङ्गाका गन्तव्य हुन् ।
सडक कालोपत्रे भएपछि तम्घासबाट केही समयमै रेसुङ्गा पुग्ने भएकाले धेरैले घुम्न, वनभोज खान तथा धार्मिक अनुरागीहरूले यज्ञशाला दर्शन गर्न आउने गरेका छन् । रेसुङ्गा नगरपालिका–१० की ४५ वर्षीया अनिता थापा सानोमा कच्ची बाटो हुँदा धेरै पटक रेसुङ्गा आउनुहुन्थ्यो । उहाँ रेसुङ्गा क्षेत्रमा गर्जुरा पार्क निर्माण भएपछि कहिल्यै आउनु भएको थिएन् । नयाँ वर्षले रेसुङ्गासहित गर्जुरा घुम्ने अवसर जुरायो ।
चित्रभित्रको चित्रकारको जीवन
जिल्ला प्रशासन कार्यालय गुल्मीको वालमा रेसुङ्गासँग जोडिएका कैयन आर्कषक चित्रहरू छन् । तम्घासमा पछिल्लो दुई महिना चित्रकारहरूले कोरेका चित्र देखेर छक्क नपर्ने सायद कमै छन् । व्यस्त चित्रकार कम बोल्छन् । कामको चाँपले सोध्ने सबैको जवाफ फर्काएर साध्य पनि छैन । नजिकै उभिएर फोटा खिच्नेहरूलाई वालको चित्र मात्रै थाहा छ । तर चित्र कोर्नेहरूको कथा कसैलाई थाहा छैन ।
चित्र मार्फत रेसुङ्गा चिनाउन व्यस्त चित्रकार ४४ वर्षे विके नरबहादुर र ३८ वर्षे प्रदीप थारूको घर नवलपरासी हो । उहाँहरूले बनाएका तस्बिर निकै उत्कृष्ट छन् । जसका कारण नजिकै आएर दैनिक सयौं जनाले फोटो खिच्छन् । अचम्म मानेर कैयौँले घर परिवार सोधे । “काममा व्यस्त भएकाले सबैका सबै उत्तर दिएर सकिँदैन । चित्रहरू खुब मन परेर घरपरिवार र बिहेसम्म सोध्नेहरू भेटिए,” नर बहादुरले भन्नुभयो, “चित्रमा भावना जोडिएकाले धेरैको मन छुनु स्वभाविक हो ।”
नरबहादुर र प्रदीपले जिल्ला प्रशासन कार्यालय गुल्मीको वालमा रेसुङ्गाको विभिन्न धार्मिक आस्थासँग जोडिएका थुप्रै आर्कषक तस्बिर बनाइरहनु भएको छ । उहाँहरूको जोडी लगभग छुट्दैन । चित्रकला अब्बल नरबहादुर र प्रदीपको जोडी लामो समयदेखि निकै जमिरहेको छ । विके सरावल गाउँपालिका–३ र थारू सुनवल नगरपालिका–९ स्वाँठी नवलपरासीका हुनुहुन्छ । विके नरबहादुरले मूर्तिकलामा स्नातकोत्तर गर्नुभयो । सानैदेखि मूर्ति र चित्रकार सोख थियो ।
यो क्षेत्रमा काम गर्न थालेका २५ वर्ष भयो । गाउँमा दुर्गाका मूर्तिहरू बनाउने र भत्काउने चलिरहन्थ्यो । विकेका आफन्त पनि मूर्तिकार भएकाले सिक्ने लोभ जाग्यो । उहाँले कक्षा ८ मा पढ्दा सरस्वती पूजाको दिन मूर्ति बनाएर लैजाँदा शिक्षक र सहपाठीबाट पाएको स्यावासी बिर्सन सक्नुहुन्न । घरमै बनाएर राखेका धेरै मूर्ति थिए । उहाँ एसएलसी दिने बित्तिकै बुटवल पुग्नुभयो । त्यहाँ गाउँकै मन गोल्डी दाइको साइनबोर्ड लेख्ने पसल थियो । रहर भएकाले विकेले सिक्न थाल्नुभयो । तर फिल्मका पोस्टरहरूमा मन पुग्यो ।
फिल्म हलहरूमा पोस्टर फेरिने बित्तिकै पुगेर घण्टौ दृश्यावलोकन गर्ने गरेर नरबहादुर सुनाउनुहुन्छ । त्यो बेला बुटवलमा पोस्टर बन्थेनन् । विके पोस्टर बनाउने ठाउँ हेर्न काठमाडौँ पुग्नुभयो । पशुपति तिर घुम्दा दोस्रो दिनै पोस्टर बनाउने ठाउँ भेटियो र प्रतिभाको कदर गर्दै काम पनि मिल्यो । त्यो बेला दुई हजारमा काम गरेको नरबहादुर बताउनुहुन्छ । पछि कामबाट प्रभावित भएपछि मालिकले पारिश्रमिक बढाएर मासिक १५ हजार दिन थाले । जसले विकेलाई ललितकलामा पढ्न मार्ग प्रसस्त गर्यो ।
उहाँकै प्रेरणाबाट बहिनी सृजना विकले पनि ललितकलामा पढ्नु भयो । उहाँ अहिले चितवनमा काम गर्नुहुन्छ । विके आर्ट ग्यालरी मार्फत काठमाडौँमा नरबहादुरले राम्रो व्यावसाय गरिरहनु भएको छ । पर्यटक क्षेत्र भएकाले धेरै जस्तो हिमाल, नदी र मन्दिर लगायत पर्यटकीय क्षेत्रहरू क्यानभासमा कोरिएका चित्रहरू पर्यटकको आर्कषणमा पर्ने गरेका छन् । सामान्य पाँच सयदेखि ढाई लाखसम्मका फोटाेहरू बिक्री गर्ने गरेको नरबहादुरले बताउनुभयो । विके नरबहादुर र प्रदीप थारूको सुरुको भेट परासीको राजु आर्टले गरायो । जहाँ प्रदीपले लेख्ने र चित्र बनाउने काम गर्नुहुन्थ्यो ।
सिनियर चित्रकार भएकाले विकेको नजरमा प्रदीप परेपछि दुवैजना काठमाडौँमा बस्न थाल्नुभयो । थारूले व्यावसायिक रूपमा चित्र कोर्न थालेको २३ वर्ष भए । गरिबीले आठ कक्षाभन्दा पढ्न सक्नुभएन । उहाँ सानैबाट सोख भएकाले गृहकार्यभन्दा चित्र धेरै बनाउनुहुन्थ्यो । थारू १५ वर्षको हुँदानै बुवा बितेपछि पाँच जनाको परिवार आफ्नै काँधमा आयो । पढ्ने रहर त्यो बेला बाध्यताले पूरा भएन । उहाँ कैयौ पटक ललितकला क्याम्पसमा पुग्नुभयो । जीवनमा पढाइको पछुतो रह्यो । उहाँ २०७१ सालमा परदेश समेत पुग्नुभयो । थारू पाँच वर्ष काम गरेर परदेशबाट फर्किएपछि आफ्नै पुरानो पेसामा जमेर लाग्नुभएको छ । प्रोजेक्ट अनुसार कमाइ हुन्छ । तर मासिक एक लाख कम्तीमा कमाइ भइरहेको थारूले बताउनुभयो । उहाँका बुवा पनि गाउँमा कहलिएका मेकानिक हुनुहुन्थ्यो ।
भाइ दीपकनारायण थारू ‘सन्दीप’को आफ्नै टाटु स्टुडियो छ । अहिले वाल पेन्टिङ्गको बजार राम्रो छ । पर्यटकीय कुरामा धेरैको आर्कषण बढी छ । यो क्षेत्रमा चित्र कोर्ने मात्रै नभएर सिकाई पनि हुने थारूले बताउनुभयो । रेसुङ्गा नगरपालिकाले पर्यटकीय आर्कषण बढाउन रेसुङ्गाको धार्मिक पहिचानका लागि रामले बाँड हानेर पानी निकालेको, सागर मन्थनबाट जटायुले अमृत लिएर हिड्दा एक थोपा रेसुङ्गामा खसालेको, रेसुङ्गा मन्दिर, जाँड हिँड रेसुङ्गाको लोगो र गर्जुरा पार्कको चित्रहरू निर्माण गरिएको छ ।
अहिले प्रति स्क्यिावर फिट ३७५ रुपियाँमा रेसुङ्गा नगरको काम गरिरहेको विके आर्ट ग्यालरीका प्रोपाइटर समेत रहनु भएका विके नरबहादुरले बताउनुभयो । रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले गत वर्षदेखिनै पर्यटकहरूको सङ्ख्या वृद्धि गर्न ‘जाउँ हिड रेसुङ्गा’ अभियान सुरु गरिएको बताउनुभयो । अभियानलाई अझै सार्थकता दिन अहिले वालहरूमा रेसुङ्गाको चित्र बनाउन थालिएको पन्थीले बताउनुभयो ।