• १३ वैशाख २०८२, शनिबार

तराईका जिल्लामा बढ्यो गर्मी, बाहिर ननिस्कन आग्रह

blog

गर्मी बढेपछि उखुको रस खादैँ एक व्यक्ति । तस्बिर : सीता काफ्ले

सीता काफ्ले
तिनाउ (रूपन्देही), वैशाख १३ गते
। वैशाख लागेसँगै रूपन्देहीसहित तराईका जिल्लामाहरूमा अत्याधिक रूपमा गर्मी बढेको छ । अप्रत्यासित रूपमा गर्मी बढेपछि तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ । त्यसमा पनि पछिल्लो तीन/चार दिन यता रूपन्देहीलगायतका तराईका जिल्लाहरूमा दिउँसोको समयमा बाहिरै निस्कनै नसकिने गरी गर्मी बढेको हो ।

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भू–भागमा केहि स्थानमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्ने जनाए पनि शनिबार दिउँसो भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार दिउँसोदेखि रूपन्देही लगायतका जिल्लामा चर्को गर्मीसहित तातो हावा (लु) चलेको छ ।

गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी मर्कामा परेको बुटवलका स्थानिय गोपाल ज्ञवाली बताउनहुन्छ । उहाँले चर्को घाम र तातो हावाले बालबालिका र वृद्धवृद्धाहरूलाई सकेसम्म बाहिर जानबाट जोगाउनुपर्ने बताउनुभयो ।

तराईका जिल्लाहरूमा चर्को घामसँगै तातो हावा चल्न सुरु गरेपछि दिउँसो घरबाटै बाहिर निस्कनै नसकिने अवस्था आएको तिलोत्तमा १५ का स्थानिय व्यवसायी मदन भुषाल बताउनुहुन्छ । उहाँले गर्मीका कारण व्यापार गर्न निकै कठिन भएको बताउनुभयो । तरकारी तथा फलफूलको व्यापार गर्दै आउनुभएका भुषालले बिहान किनेको ताजा तरकारी तथा फलफूल दिउँसोको घामले सुकेर बिक्री गर्न कठिनाई भएको बताउनुभयो ।

वैशाख पहिलो साताबाटै भदौरे गर्मीजस्तै गर्मी बढेपछि व्यवसायमा ठुलो असर पुगेको भुषालको भनाइ छ । ‘‘गर्मी यति धेरै बढ्यो कि कुनै सीमा छैन, बिहानैदेखिको चर्को घाम र दिउँसोको तातो हावाले बसिखान भएन्, कसरी व्यापार गर्ने होला भन्ने चिन्ताले सताएको छ ।,’’ भुषालले भन्नुभयो ।

अत्यधिक गर्मीका कारण अस्पतालमा बिरामीहरूको चाप समेत बढेको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । 

गर्मी बढेसँगै अस्पतालहरूमा झाडा पखाला लाग्ने, ज्वरो आउने, कमजोरी महसुस हुने तथा छालामा समस्या देखिएका बिरामीहरूको भिड लाग्ने गरेको डा. आकाश शाहीले जानकारी दिनुभयो । उहाँले तराईका जिल्लाहरूमा चर्को घाम र तावा हावा चलेका बेला सकेसम्म बाहिर नसिस्कन आम नागरिकलाई सुझाव दिनुभयो । कामका लागि बाहिर निस्कनै परे शरिर पुरै छोप्ने गरी कपडा लगाएर, छाता ओडेर र झोलिलो चिज प्रसस्त मात्रामा सेवन गरेर मात्र हिड्न उहाँको आग्रह छ ।  गर्मीको समयमा अरू व्यवसायको व्यापार घटे पनि जुसजन्य पदार्थको व्यापार भने बढको छ ।