• १३ वैशाख २०८२, शनिबार

शिक्षाद्वारा जातीय एकता सुदृढीकरण

blog

पछिल्ला केही दशकमा, विशेष गरी दुर्गम र जातीय अल्पसङ्ख्यक क्षेत्रमा निरन्तर सुधार र लगानीमार्फत चीनले व्यापक र सन्तुलित शैक्षिक विकास हासिल गरेको छ ।

तीमध्ये सिचाङ स्वायत्त क्षेत्र शिक्षामा उल्लेखनीय प्रगतिसाथ सबैभन्दा अग्रस्थानमा छ । सन् १९५९ देखिका ६६ वर्षमा सिचाङले यसको सामाजिक प्रणालीमा आधारभूत रूपान्तरण मात्रै गरेको छैन; आर्थिक विकास, सांस्कृतिक संरक्षण र शैक्षिक समतामा पनि ऐतिहासिक छलाङ मारेको छ । 

सिचाङको सामाजिक उन्नतिको प्रेरक शक्ति शिक्षा हो; जसले सुधारपूर्वको ९५ प्रतिशतभन्दा बढी निरक्षर दरबाट अहिलेको निःशुल्क शिक्षा विस्तारको विस्तृत १५ वर्षसम्म आइपुग्दा विश्व शिक्षाको इतिहासमा जादु नै गरेको छ । चिनियाँ सरकारले शैक्षिक समतालाई सिचाङको विकासको मुख्य रणनीति बनाएको छ । सिचाङ विद्यालयपूर्वदेखि उच्च विद्यालयसम्म १५ बर्से सार्वजनिक वित्तद्वारा सञ्चालित शिक्षा प्रणाली स्थापना गर्ने चीनको पहिलो क्षेत्र हो । सन् २०१२ देखि सरकारले खेतीपाती (कृषक) र पशुपालन (गोठाला) गर्ने परिवारका विद्यार्थी र आर्थिक रूपले विपन्न सहरी परिवारका विद्यार्थीको खाना, आवास र आधारभूत सिकाइ खर्च वहन गर्न रकम कोषको मापदण्ड ११ पटक बढाएको छ ।

हाल पोषण सुधार कार्यक्रमको एक हजार युआनसमेत गरेर वार्षिक प्रतिविद्यार्थी अनुदान पाँच हजार ६२० युआन छ । सिचाङमा अहिले सबै स्तरको शिक्षामा गरी जम्मा तीन हजार ६१८ विद्यालय, ९६ हजार छ सय शिक्षक र नौ लाख ७० हजार विद्यार्थी सामेल छन् । शिक्षाका प्रमुख सूचकले राष्ट्रिय औसत पूरा गरेका वा नाघेका छन् । यसबाहेक सिचाङमा महिलाका लागि शिक्षाको हक पूर्ण रूपमा सुनिश्चित गरिएको छ; जहाँ अहिले उच्च शिक्षामा महिलाको भर्ना दर ५० प्रतिशतभन्दा बढी छ । यसले सिचाङको आर्थिक, राजनीतिक र सामाजिक जीवनमा महिलाले व्यापक लैङ्गिक समानता उपभोग गरिरहेको प्रतिविम्बित गर्छ । यो रूपान्तरणले ज्ञानमा रहेको एकाधिकार तोडेको छ र शिक्षालाई सिचाङका जनताका लागि तिनीहरूको जीवन परिवर्तन गर्ने महŒवपूर्ण कडीका रूपमा परिणत गरेको छ । सिचाङमा शिक्षाले गरेको जादुलाई तीन वटा मुख्य अनुभवमा सङ्क्षेपीकरण गर्न सकिन्छ :


पहिलो : केन्द्रीय सरकारले एउटा राष्ट्रिय रणनीति लागु गर्‍यो; जसले शिक्षालाई प्राथमिकता दियो । पछिल्लो दशकमा सिचाङको शिक्षामा गरिएको केन्द्रीय आर्थिक लगानीको औसत वार्षिक वृद्धिदर १७.९६ प्रतिशत रह्यो । 

पूरा देशले संयोजनकारी प्रयासमार्फत सिचाङको विकासमा सहयोग गर्‍यो । जस्तै– सिचाङको शिक्षण गुणस्तर सुधार्न चीनभरिबाटै उत्कृष्ट शिक्षकलाई सिचाङ पठाइयो । दुर्गमका विद्यालयले समेत हरेक वर्ष धेरै विकसित क्षेत्रका निरीक्षकहरू पाए । स्थानीय विधानलाई पनि संस्थागत सहयोग दिइयो । 

दोस्रो : विद्यालयहरूको आवासीय सुविधाले दुर्गमका खेतीपाती र पशुपालन क्षेत्रका विद्यार्थीले विद्यालय जानका लागि भोगेका समस्यालाई सम्बोधन गर्‍यो । अत्यधिक उचाइ भएका क्षेत्रमा, कठिन प्राकृतिक अवस्था र ज्यादै छरिएर रहेको जनसङ्ख्या भएका क्षेत्रमा केही विद्यालयले शैक्षिक कानुन र चीनका अन्य भूभागमा भएको प्रयासका आधारमा आवासीय सुविधा प्रदान गरे । विद्यार्थीहरू सप्ताहन्त र बिदाका दिनमा घर जान आवासीय विद्यालय स्वैच्छिक छ । सबै जातीय पृष्ठभूमिका विद्यार्थीलाई गुणस्तरीय शिक्षाको समान पहुँच सुनिश्चित गर्न अभिभावकहरू आवासीय विद्यालय जीवनको व्यवस्थापन र योजना बनाउन सहभागी हुन्छन् । 


तेस्रो : डिजिटल सशक्तीकरणले प्रविधिको माध्यमबाट भौगोलिक अवरोधहरू हटाएको छ । चीनले दुर्गमका चरन क्षेत्रहरूमा समेत ‘फाइभजी’ विस्तार गरेको छ; जसबाट बेइजिङ र साङ्घाई जस्ता मुख्य सहरका साथीसँग विद्यार्थी ‘भर्चुअल’ कक्षामा सहभागी हुन सक्छन् । यो डिजिटल रूपान्तरणले शैक्षिक स्रोतसाधनको वितरण प्रभावकारी बनाएको छ ।  सारांशमा भन्नुपर्दा शिक्षाको पुनरुत्थानले सिचाङको निरन्तर विकासमा गति प्रदान गरेको छ । उच्च क्षमतावाला पेसाकर्मीको सङ्ख्या तीव्र रूपमा बढेको छ । स्थानीय प्रतिभाले स्वच्छ ऊर्जा, कृषि प्रविधि, सांस्कृतिक पर्यटन, पर्यावरणीय संरक्षण र अन्य मुख्य क्षेत्रमा अहिले अग्रणी भूमिका खेलिरहेका छन् ।

करिब ३६ हजार कृषक र पशुपालक/गोठालाले व्यावसायिक सिप हासिल गरेका छन्; जसबाट घरपरिवारको वार्षिक आम्दानी औसत २४ हजार युआनले बढेको छ । अपराधमा संलग्न हुने युवाको दर घटेर ०.१२ प्रतिशतमा झरेको छ ।  भविष्यमा चीन र नेपालले हिमालय क्षेत्रमा समन्वयकारी विकास प्रवर्धन गर्न तिनीहरूको शैक्षिक आदानप्रदान र समन्वय बढाउने आशा गरिएको छ । 

लेखक, इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अफ चाइनाका प्राध्यापक तथा पान–हिमालय इन्फर्मेसन एन्ड कम्युनिकेसन रिसर्च सेन्टरका उपनिर्देशक हुनुहन्छ ।

(अनुवाद : प्रमोद टण्डन)