हुम्ला समाचारदाता
हुम्ला, वैशाख १३ गते । हिमाली जिल्ला हुम्ला साक्षर जिल्लाका रूपमा घोषणा हुने भएको छ । जिल्लाका सात वटै गाउँपालिका साक्षर घोषणा भइसकेका हुँदा अब जिल्लालाई नै साक्षर घोषणा गर्न लागिएको हो । बिहीबार बसेको साक्षर अभियान जिल्ला समन्वय समितिको बैठकले हुम्ला जिल्लालाई औपचारिक रूपमा साक्षर घोषणा गर्ने निर्णय गरेको छ । घोषणा कार्यक्रम आगामी जेठ ९ गरिने बताइएको छ ।
सात वटै गाउँपालिका साक्षर घोषणा भइसकेका कारण समितिको बैठकले एक औपचारिक कार्यक्रम सञ्चालन गरेर घोषणा गर्ने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख योगेश आलेमगरले बताउनुभयो । सबैभन्दा पहिले खार्पुनाथ गाउँपालिका २०७९ असार ३ गते साक्षर घोषणा भएको थियो भने सबभन्दा पछि नाम्खा गाउँपालिका २०८१ फागुन ११ गते साक्षर घोषणा भएको थियो ।
जिल्लाको कुल साक्षरता दर ९६.०४ प्रतिशत रहेको बताउँदै उहाँले ९५ प्रतिशत साक्षर दर पुगेमा घोषणा गर्न सकिने कानुनी व्यवस्था रहेको बताउनुभयो । १५ देखि ६० वर्ष उमेरको जनसङ्ख्या ३६ हजार ३५४ रहेकोमा त्यसमा ३३ हजार ९५४ जनसङ्ख्या साक्षर रहेको छ । गाउँपालिका अनुसार सात वटा गाउँपालिकाको साक्षरता दर उत्तरी नाम्खा गाउँपालिकामा ९६.१६ प्रतिशत रहेको छ भने सिमकोट गाउँपालिकामा ९५.६ प्रतिशत, खार्पुनाथमा ९५.५ प्रतिशत, सर्केगाड गाउँपालिकामा ९५.२५ प्रतिशत, चङ्खेली गाउँपालिकामा ९५.६४ प्रतिशत, अदानचुली गाउँपलिकामा ९५.२८ प्रतिशत र ताँजाकोट गाउँपालिकामा ९८.०४ प्रतिशत साक्षरता दर रहेको छ ।
बैठक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको थियो भने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावललगायतको उपस्थिति थियो ।