खलङ्गा समाचारदाता
दार्चुला, वैशाख १३ गते । सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुलाका नागरिक आयोडिनयुक्त नुनको सहज पहुँचमा पुगेका छन् । यसअघि नुनका लागि भारतीय बजारको भर थियो । गोकुलेश्वरमा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो स्थापना भएपछि त्यहाँका नागरिक आयोडिनको सहज पहुँचमा पुगेका हुन् ।
जिल्लाका नौ वटै स्थानीय तहका ६१ वटै वडाका नागरिकलाई आयोडिनयुक्त नुन सहज रूपमा प्राप्त होस् भन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दार्चुला (खलङ्गा डिपो) र (गोकुलेश्वर डिपो) ले विभिन्न स्थानीय तहमा बिक्री केन्द्र स्थापना गरेर नुन बिक्रीवितरण गरिरहेको छ ।
खलङ्गा डिपोका इन्चार्ज प्रेमसिंह कुँवरका अनुसार व्यास गाउँपालिका र दुहुँ गाउँपालिकाका स्थानीयलाई गाउँघरमै आयोडिनयुक्त नुन उपलब्ध गराउन दुहुँ गाउँपालिका–५, गरमोरा र व्यास गाउँपालिका–४, सुन्सेरमा नुन बिक्री केन्द्र स्थापना गरिएको छ । बिक्री केन्द्रबाट प्रत्येक दिन नुन बिक्रीवितरण भइरहेको छ ।
गोकुलेश्वर डिपो अन्तर्गत अपिहिमाल गाउँपालिका–५, ओखल, वडा नम्बर ४ को खण्डेश्वरी, नौगाड गाउँपालिकाको होपरीगाड र मालिकार्जुन गाउँपालिकाको पस्ती बिक्री केन्द्रबाट नुन बिक्रीवितरण भइरहेको गोकुलेश्वर डिपोका इन्चार्ज लक्ष्मणसिंह धामीले जानकारी दिनुभयो । गोकुलेश्वर डिपोबाटै बैतडीको डिलाशैनी गाउँपालिकाका स्थानीयले समेत आयोडिनयुक्त नुन उपभोग गरिरहेको बताइएको छ । गोकुलेश्वर डिपोबाट दैनिक २० देखि २५ क्विन्टल तथा खलङ्गा डिपोबाट दैनिक १५ देखि २० क्विन्टल आयोडिनयुक्त नुन बिक्रीवितरण हुने गरेको सम्बन्धित डिपोका इन्चार्जले बताउनुभयो ।