टोपलाल अर्याल
रेसुङ्गा, वैशाख १३ गते । गुल्मीको नयाँ गाउँमा बच्चाहरूले लाइटर खेलाउँदा दुखद घटना भएको छ । धुर्कोट गाउँपालिका–१ नयाँ गाउँ ओखर रुखकी मनि नेपालीका तीन छोराछोरी छन् । आकाश र अस्मिले नयाँ गाउँ मावि र बिवेक नेपालीले देउराली प्राविमा पढ्थे ।
छोराछोरी शिक्षक आन्दोलनको कारण लामो समयदेखि घरमै छन् । आमा मनि नेपालीले जेठो छोरा आकाशलाई मकै छर्न बारीमा लिएर गएकाले घरमा अस्मि र बिवेक मात्रै थिए । शुक्रवार कडा गर्मी थियो । दिदिभाईले लाइटर निकालेर खेलिरहेका बेला भाइ बिवेकले गोठ नजिकको घाँसको थुप्रोमा आगो लगाए । दिदी अस्मि भागेर चिच्याइन । तर, भाइ गोठभित्र पसेकाले भाग्न पाएनन्, जलेर मृत्यु भएको छिमेकी विष्णु कुवरले बताउनुभयो ।
मनि नेपालीका श्रीमान् कामको सिलसिलामा भारतमा हुनुहुन्छ । गाउँका अत्यन्तै विपन्न परिवारलाई आगलागी हुँदा छोरा गुमाउनु परेको पीडाले विक्षिप्त बनाएको कुवरले बताउनुभयो । आगलागी भएको केही बेरमा स्थानीय र प्रहरीको टोली जुटे पनि केही गर्न सक्ने अवस्था थिएन । ६ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिनुभयो ।
आगोले ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले कच्ची गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बालकको सब पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा तम्घासमा राखिएको प्रहरीले जनाएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले घटनाले निकै दुखी बनाएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।