बुटवल समाचारदाता
बुटवल, वैशाख १३ गते । रुपन्देहीको सैनामैना नगरपालिकाका महिलाले फेसन डिजाइन तालिम सिक्दै फेसन सो गरेका छन् । सैनामैना–१ देखि ११ वटै वडाबाट महिलाले आफैँले सिलाएको कपडा आफैँले लगाएर फेसन सो गरेका हुन् । आफैँले डिजाइन गरेर सिलाएको कपडा आफैँले लगाउँदा यस्तो बनाउनु पर्दो रहेछ भन्ने प्रत्यक्ष थाहा हुने र यसबाट सिकाइ प्रभावकारी हुने भएकोले फेसन सो अभ्यास गराइएको बताइएको छ ।
फेसन डिजाइन तालिम सिकेपछि महिलाले कम मूल्यको कपडालाई आफैँले आकार दिएर, रङ भरेर र डिजाइन गरेर बढी मूल्यमा बिक्री गर्न सक्ने भएका छन् । हरेक महिना फेसनको नयाँ डिजाइन आउने भएकोले एडभान्स लेभलको तालिम गराएको आयोजकको भनाइ छ । अहिले विवाहको मौसम छ । अहिले बेहुलीले विवाहमा लगाउने पोसाक र हल्दी मेहदीमा लगाउने ड्रेसको डिजाइन ट्रेन्डिङमा छ । तालिमकी प्रशिक्षार्थी नम्रता पचभैयामगरले तालिममा पनि यही डिजाइनलाई ध्यानमा राख्दै सहभागी प्रशिक्षार्थीलाई सिकाएर फेसन सोमार्फत सिकाइलाई निखरता ल्याउने प्रयास गरेको बताउनुभयो ।
टेलरिङमा कपडा सिलाएर डिजाइन हुन्छ भने फेसन डिजाइनमा कम मूल्यको कपडालाई पनि डिजाइन गरेर फेसनमा ढाल्न सकियो भने धेरै आम्दानी गर्न सकिने प्रशिक्षार्थीले सिकेका छन् । महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकाको आयोजना र आधार ट्रेनिङ सेन्टर भैरहवाको व्यवस्थापन सहयोगमा तीनमहिने डिजाइन तालिम भइरहेको हो । तालिमपछि प्रशिक्षार्थी घरमै बसेर पनि आत्मनिर्भर बन्न सक्ने प्रशिक्षक पचभैयामगरको विश्वास छ । तालिममा ३५ जना प्रशिक्षार्थी महिलाको सहभागिता छ ।