• २१ असार २०८१, शुक्रबार

बैंकिङ कसुर मुद्दामा दुई महिला पक्राउ

blog

काठमाडौं, जेठ २४ गते । बैंकिङ कसुर मुद्दामा फरार दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने दुई महिलालाई मङ्गलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरी हुनुहुन्छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जाहेरवालालाई झुक्यानमा पारेर खातामा रकम नभएको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले सुब्बालाई कालोपुल र गिरीलाई नयाँबस्तीबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले पक्राउ परेकी सुब्बालाई विसं २०७६ फागुनमा १५ दिन कैद सजाय र ५० लाख रुपियाँ जरिवाना तथा गिरीलाई विसं २०७६ माघमा १५ दिन कैद सजाय र ५४ लाख ५० हजार रुपियाँ जरिवाना हुने फैसला गरेको थियो ।

अदालतले उनीहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद र सजाय हुने फैसला सुनाएको थियो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौं पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।