• १२ वैशाख २०८२, शुक्रबार

जुभुङ्ग र बलिथुम जोड्न पक्की पुल निर्माण हुँदै

blog

गुल्मी दरवार गाउँपालिका –१ र २ जोडने निर्माणाधीन पक्की पुल । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, वैशाख १२ गते । गुल्मीदरवार गाउँपालिका –१ र २ जोडन् पक्की पुल निर्माणको काम अघि बढेको छ । सडक पूर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माणको काम भइरहेको छ । 

जुभुङ्गखोला–डल्लीखोला–झिरबास नेटा–थाक्सीपोखरा सडकमा पुल निर्माण गरिएको छ । यो पुल डि. एण्ड. डि–रकेट–आलमदेवि जेभी पाल्पाले निर्माण सम्झौता गरेको सडक पूर्वाधार कार्यालय गुल्मीका सूचना अधिकारी भक्तराज गिरीले जानकारी दिनुभयो । 

यो योजना २०८१ जेठ ८ गते सम्झौता भएर २०८२ मंसिर २८ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । २५ मिटर लामो पुलको लागत तीन करोड ८१ लाख ८४ हजार ६७७ रुपियाँ रहेको छ । अहिलेसम्म पुलको ४० प्रतिशत प्रगति भएको सूचना अधिकारी गिरीले बताउनुभयो । जुभुङ्ग र बलिथुम आमनेसामनेका गाउँ हुन् ।

चन्द्रकोट र सत्यवतिका नागरिक सदरमुकाम जान दुबै गाउँका सडक प्रयोग गर्छन् । तर, बलिथुममा पक्की पुल नभएका कारण जुभुङ्ग सडक बन्द हुँदा स्थानीयलाई गाह्रो हुन्थ्यो । सोही समस्यालाई मध्यनजर गरेर अहिले पक्की पुल निर्माणका काम भइरहेको छ । 

बर्षातमा खोलोपहिरो हुँदा पनि व्यस्त सडक अवरुद्ध नहोस् भनेर जुभुङ्ग र बलिथुमको सिमामा पक्की पुल निर्माण गरिएको गुल्मी दरबार गाउँपालिका –१ बलिथुमका वडाध्यक्ष राजेन्द्र कंडेलले जानकारी दिनुभयो । उहाँले करिव चार करोडको पक्की पुल निर्माण व्यावसायिले बजेटको कारण देखाउँदै सुस्त गरिरहेकाले एउटा पिल्लर मात्र देखिने काम भएको बताउनुभयो । 

आफुहरुले लुम्बिनी प्रदेशमा अर्थमन्त्री धनेन्द्र कार्कीलाई पुलको अवस्था र बजेटबारेमा अवगत गराइरहेकाले समयमै काम सम्पन्न होस् भन्ने पक्षमा रहेको बताउनुभयो ।