• १२ वैशाख २०८२, शुक्रबार

सरंक्षणको अभावमा कृत्रिम जलासय

blog

कल्पना खरेल

नवलपरासी पश्चिम, वैशाख १२ गते । नवलपरासी पश्चिमस्थित सुनवल ४ दामोदरकुण्डबाट करिब २ किलोमिटर उत्तरमा वि.स. २०७५-०७६ सालमा कृत्रिम जलासय (सिमसार) निर्माण गरिएको छ । 

चार बिघा क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रलाई राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको ७० लाखको बजेटमा कृत्रिम जलासय (सिमसार) निर्माण गरिएको हो । 

मुलपानी सामुदायिक वन र केहि क्षेत्र आदर्श सामुदायिक वनभित्र पर्ने कृत्रिम जलासय ( सिमसार) यतिबेला सरंक्षणको अभावमा डरलाग्दो झाडीमा परिणत भएको छ । 

पानीको सानो खोल्सो मात्र रहेको क्षेत्रलाई सिमसार निर्माण गर्न मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद पाण्डेको अध्यक्षतामा जल पुनर्भरण पोखरी निर्माण उपभोक्ता समिति समते गठन गरियो। मान्छेको बस्तीभन्दा केहिँ पर जङ्गलको छेउमा एक वर्ष लगाएर बनेको उक्त कृत्रिम जलासय शान्त, मनमोहक र अत्यन्तै आकर्षित देखिन्थ्यो । सिमसार क्षेत्र नजिकै उत्तरतर्फको प्राकिृतिक मुहान डाकापानीबाट बाह्रैमहिना नालाको रूपमा बगेर आएको खोलाको पानी पोखरीमा बाह्रैमास जम्मा भइरहन्छ । 

जलासयबाट पानी रिचार्ज  हुने, वन्यजन्तुमैत्री, कृषि, सिँचाइ, पशुपालन र पर्यटकीय विकासको अन्तन्तै सम्भावना सहित जलासय निर्माण गरेपछि विभिन्न खालका चराचुरुङ्गी, विभिन्न खालका जङ्गली जनावारहरू आउने, वातावरणीय सन्तुलनमा समेत महत्त्वपूर्ण योगदान रहने विश्वास रहेको थियो ।

जलासयको छेउमा ६ मिटरको हरित सडक, ४ बिघा जग्गामा फैलिएको साढे ३ मिटर गहिरो पोखरी, पोखरीको बिचमा टापु, टापुमा पार्क बनाउने साथै डुङ्गा सयर गराउने लक्ष्य राखी सिमसार निर्माण गरिएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो । सिमसार निर्माणका लागि ठेकेदार दिपेश कर्माचार्यलाई ठेक्का दिइएको थियो । 

सुनवल वडा नम्बर ४ को आफ्नै भवन नहुदा ठेकेदार कर्माचार्यको घरमा वडा बसेको थियो । ठेकेदार कर्माचार्यले वडा कार्यालय, मुलपानी सामुदायिक वन र आदर्श सामुदायिक वनसँग सिमसार बनाउन बजेट ल्याउने भनेपछि सो विषयप्रति सबै सकारात्मक रहेका थिए । उहाँकै पहलमा बजेट आएपछि सो सिमसार बनाउने ठेक्का समेत उहाँलाई दिइएको जल पुनर्भरण पोखरी निर्माण उपभोक्ता समितिका सचिव मुरली गौतमले बताउनुभयो ।  

निर्माण कार्य सम्पन्न पश्चात यस क्षेत्रमा बदेल, बादर, मृग, घोरल,बाघ लगाएत जङ्गली जनावर पानी खान आउने गरेका थिए । चराचुरुङ्गीको आवाज र रमणीय दृश्यलाई अवलोकन गर्न विभिन्न क्षेत्रबाट मान्छेहरू आउथे । सिमसार पिकनिक स्पोटको रूपमा समेत विकाश भइरहको थियो । 

आन्तरिक र वाह्य पर्यटकीय गन्तव्य , होमस्टेको व्यवस्था, स्थानियलाई रोजगारको सिर्जना, आकर्षक पिक्निक स्पोट लगाएत विभिन्न महत्त्वकाङ्क्षी सोच राखेर जल पनर्भरण पोखरी निर्माण समितिले उत्त पोखरी वार्षिक २ लाखमा केहिँ स्थानिय युवाहरूलाई ठेक्का दियो। पोखरीमा विभिन्न प्रकारका २ लाखभन्दा बढी मुल्यका माछाहरू, हासँहरू राखिए । त्यस पोखेरीको सुरक्षाका लागि सुरक्षा गार्ड बस्ने पक्की टहरो समेत निर्माण गरियो ।  

डाकापानी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै भन्ने शीर्षकमा थुप्रै हेडलाइन पनि बने । विभिन्न स्थानिय र राष्ट्रिय सञ्चारमाध्यमबाट समाचार समेत सम्प्रेशण र प्रकाशन पनि गरियो । हाल पाँच वर्षदेखि सो कृत्रिम जलासय संरक्षणको अभावमा ओझेलमा परेको छ । 

दैनिक मनमोहक दृश्य हेर्न मान्छेको बाक्लो आवतजावत हुने यस ठाउमाँ आजभोलि दुई तिन जना हिड्न समेत डरलान्ने भएको छ । २०७७ सालमा आएको विषण वर्षाले पोखरीमा भरियो । पोखरीले थेग्न नसक्दा पोखरीको बाध फुट्यो । यसक्षेत्रका मक्षरमारा, रमवापुर ,दामोदरकुण्ड लगायतका गाउँ डुबानमा पर्‍यो । पोखरीका माछा सबै बाढीसँगै बस्तीमा पस्यो । लामो समयसम्म ती माछाहरू कुहिएर गनाएको र बाढी पसेर धनजनको क्षेती पुर्‍याएको स्थानियको आरोप छ । 

त्यसपछि उक्त सिमसार अस्तव्यक्त रहेको पाइन्छ । सिमसार निर्माण गर्ने क्रममा कमसल सामान प्रयोग भएको र चुरेको बजेट दुरुपयोग भएको त्यस क्षेत्रका कतिपय स्थानियले आरोप लगाएका छन् ।  तर जल पुनर्भरण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष पाण्डेले स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, पत्रकार, राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति, डिभिजन वन कार्यालयलाई राखेर खर्च सार्वजनिक गरी अनुमोदन गरेर मात्र राष्ट्रपति चुरेबाट रकम भुक्तानी गरिएको बताउनुभयो । 

अस्तव्यस्त रहेको सिमसारलाई प्रयोगमा ल्याउन यतिबेला स्थानिय सरकारले मक्षरमारा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा ल्याएको छ । जसका लागि आर्थिक वर्ष २०८१-०८२ मा ८ लाख ७५ हजार रकम विनियोजन गरेको थियो । मुलपानी सामुदायिक वन, आदर्श सामुदायिक वन र सुनवल नगरपालिकाको संयुक्त त्रिपक्षिय ११ लाख १३ हजार लगानीमा फुटेको पोखरीको ड्याम बनाईएको छ । पोखरीबाट आवश्यकता अनुरूप मक्षरमारा, दोरदोरे र रमवापुरका करिब ४०–५० बिघा जग्गामा सिँचाइ भइरहेकोे सुनवल नगरपालिकाले बताएको छ । 

पुनः सिमसारलाई रमणीय बनाउन राष्ट्रपति चुरे, वन मन्त्रालय, एकाइ कार्यालय र डिभिजन वन कार्यालय सगँ पटक–पटक रकम माग गरिएपनि कुनै पनि बजेट नआएकोले सिमसार अस्तव्यस्त अवस्थामा रहेको भन्दै सबै मिलेर यसको सरंक्षणका लागि पहल गर्न जल पुनर्भरण पोखरी निर्माण उपभोक्ता समितिले आग्रह गरेको छ ।