• १२ वैशाख २०८२, शुक्रबार

बिमा रकम नपाएपछि भुक्तानी रोक्का

blog

बिमा रकम भुक्तानी नहुँदा निर्माण कार्य रोकिएको अस्पतालको नयाँ भवन ।

वसन्त पराजुली 

नारायणगढ, वैशाख १२ गते  । स्वास्थ्य बिमा बोर्डले दाबी भुक्तानी रोकेसँगै भरतपुर अस्पतालले औषधी तथा स्वास्थ्य सामग्री खरिदकर्ताको भुक्तानी दिनसकेको छैन । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बिमा बोर्डले भुक्तानी नदिँदा समस्या भएको बताउनुभयो । “बीमा बोर्डमा भरतपुर अस्पतालाको ५० करोड रुपियाँभन्दा बढी भुक्तानीका लागि दाबी छ । उक्त भुक्तानी रोकिएपछि हामीले पार्टी (सामान खरिदकर्ता) लाई भुक्तानी दिनसकेका छैनौँ,” उहाँले भन्नुभयो । 

मेसु प्राडा पौडेलले पार्टीलाई अस्पतालले १२ करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिनुभयो । “बिमामार्फत बिरामीलाई उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधी खरिदको पैसा भुक्तानी गर्न सकिएको छैन । बिमाले भुक्तानी गर्ला र तिरौँला भनेको समस्या भइसक्यो,” उहाँले भन्नुभयो । 

उहाँले अहिले पार्टीले औषधी र स्वास्थ्य सामग्री पठाउन रोक लगाउन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । गत फागुनयता अस्पतालले पार्टीलाई भुक्तानी दिन सकेको छैन । “बिमा बोर्डले भुक्तानी दिन बाँकी रहेको आधा पैसा मात्रै तत्काल दिए पनि समस्या सल्टिन्थ्यो,” उहाँले भन्नुभयो । बोर्डले अस्पताललाई गएको वर्षको साउनदेखि नै भुक्तानी दिएको छैन । अहिलेसम्म बिमा बोर्डबाट ५० करोड रुपियाँ लिन बाँकी रहेको अस्पतालले जनाएको छ । अस्पतालका बिमा कार्यव्रmम संयोजक लीलाधर पौडेलले बिमाको भुक्तानी नआउँदा अस्पतालमा विषमता सुरु भएको बताउनुभयो ।  मेसु प्राडा पौडेलले भन्नुभयो, “बिमा सेवा रोक्नसक्ने अवस्था पनि छैन । औषधी र स्वास्थ्य सामग्रीको अभावमा बिमालाई निरन्तरता दिन सक्ने अवस्थामा पनि छैनौँ ।” 

भरतपुर अस्पताल बिमा सेवा दिने देशकै एक नम्बरको अस्पताल हो । २०७४ भदौ १ गते देखि यो अस्पतालले बिमा सुविधा सञ्चालन गरेको हो । बिमा सुविधा सञ्चालन गरेबापत अस्पतालले अहिलेसम्म दुई अर्बभन्दा बढी भुक्तानी लिइसकेको अस्पतालले जनाएको छ । 

“अहिले उपचारमा आउने बिरामीमध्ये ७० प्रतिशत बिरामी बिमाकै छन्,” मेसु प्राडा पौडेलले भन्नुभयो, “हरेक दिन झन्डै २० लाख रुपियाँ हाराहारीमा बिरामीलाई बिमामार्फत सुविधा दिइरहेका छौँ ।”

देशको मध्यभागमा रहेको यो अस्पतालले दैनिक दुई हजारभन्दा बढी बिरामीको उपचार गर्दै आएको छ । विशिष्टीकृत सेवासमेत सञ्चालन गरेको अस्पतालमा बिमा रकम भुक्तानी नहुँदा अस्पतालको थप पूर्वाधारको काम रोकिने अवस्थामा पुगेको छ । “यही बिमाको रकम भुक्तानी हुन्छ भनेर नै पूर्वाधारको काम जारी थियो तर आर्थिक अभावका कारण अहिले रोकेका छौँ,” पौडेलले भन्नुभयो । 

नेपालमा ८० भन्दा बढी स्वास्थ्य संस्थाले स्वास्थ्य बिमा कार्यव्रmम सञ्चालन गरिरहेका छन् । कतिपय स्वास्थ्य केन्द्रले दाबी रकम नपाउँदा सेवा नै रोकेका पनि छन् तर भरतपुर अस्पतालले भने सेवा रोकेको छैन । मेसु प्राडा पौडेलले भरतपुर अस्पतालले बिमा रकम नियमित नगरेका कारण बिरामीका लागि २४ वटा ल्याबको सेवा रोकिएको जानकारी दिनुभयो । 

अस्पतालका अध्यक्ष राजु पौडेलले भन्नुभयो, “यही अवस्था रहे अस्पतालका सेवा नै बन्द भएर नियमित सञ्चालनमै सङ्कट आउन सक्छ ।” यता स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक राजु काफ्लेले स्रोतकै अभावमा भुक्तानी रोकिएको बताउनुभयो । “पहिलो त भुक्तानी गर्न स्रोतकै अभाव छ, दोस्रो अस्पतालले बिमा दाबी गरेको रकममाथि नै परीक्षण गर्ने कार्य चलिरहेको छ,” उहाँले भन्नुभयो । सकेसम्म समस्यामाथि सम्बोधन गर्ने प्रयास गरिरहेको भन्दै उहाँले बताउनुभयो, “स्रोत पहिचान भए यही महिनाको अन्तिमसम्म भुक्तानीको तयारी गरिरहेका छौँ ।” 

यसैबिच भरतपुर अस्पतालले पत्रकार सम्मेलन गरेर आफ्ना गतिविधि स्वतः प्रकाशन सुरु गरेको जनाएको छ । नागरिकको सूचना पाउने हकलाई सम्मान गर्दै अस्पतालले गत माघबाट आफ्नो वेबसाइटमार्फत अस्पतालका सेवा सुविधा सार्वजनिक गर्ने गरेको जानकारी दिएको छ । अस्पतालका प्रशासकीय प्रमुख तुलसीराम आचार्यले अब अस्पतालका हरेक सूचना आफूहरूले स्वतः प्रकाशनमार्फत सार्वजनिक गर्ने जानकारी दिनुभयो ।