• १२ वैशाख २०८२, शुक्रबार

गोरखा भूकम्पको दस वर्ष

blog

विनाशकारी गोरखा भूकम्प गएको १० वर्ष पूरा भएको छ । त्यो भयावह र कहालीलाग्दो अवस्था भोगे र त्यसले पु¥याएको विनाश देखे पनि त्यस यताका दस वर्ष भवन संहिताको निर्माण वा अद्यावधिक र प्रकोपको वर्गीकरण गर्ने तथा भूकम्पको धक्का महसुस भएको अवस्थामा सलबलाउन खोजे जस्तो गर्ने बाहेक भविष्यमा यस प्रकारका विपत्को सामना गर्न ठोस कार्य भएको देखिँदैन । गत पुस र माघमा ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारा तय गरी २७ औँ भूकम्प सुरक्षा दिवस सम्पन्न भयो । १९९० सालमा गएको भूकम्पले गरेको विनाशपछि भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना फैलाउने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी विसं २०५५ देखि मनाउन थालिएको हो । लामो समयसम्म काठमाडौँ उपत्यकामा मात्र सीमित भूकम्प सुरक्षा दिवस केही वर्षदेखि प्रदेश र स्थानीय स्तरमा समेत विभिन्न कार्यव्रmम गरी मनाउन थालिएको छ । स्थानीय र समुदाय स्तरमा यस प्रकारका जनचेतनामूलक कार्यव्रmम सञ्चालन गर्नु अत्यन्त आवश्यक र सान्दर्भिक हो । किनभने अहिलेसम्मका उद्धारका कार्य हेर्दा प्रकोपको समयमा वा प्रकोप लगत्तै उद्धार कार्यका लागि स्थानीय तह वा स्थानीय समुदाय जति प्रभावकारी अरू संयन्त्र देखिएको छैन ।

लामो समयदेखि भूकम्प नगएको पश्चिम नेपालमा बेलाबेलामा गएका भूकम्पले त्यस क्षेत्रमा शक्ति सञ्चित भएको सङ्केतको दिइरहेका छन् । तीमध्ये २०८० कात्तिक १८ मा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गएको ६.४ मानको मझौला भूकम्पले त्यस क्षेत्रमा नसोचेको जनधनको क्षति ग¥यो । यसको मुख्य कारण त्यस क्षेत्रमा संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधीभन्दा पनि रात काट्ने वा ओत लाग्ने हिसाबले बनाइएको हुनाले भएको देखिन्छ । यसबाट हाम्रो पूर्वतयारीको अवस्था पनि ज्ञात हुन्छ ।

हामीले पूर्वतयारी मात्र होइन प्रकोपपछि गरिने पुनर्निर्माणसमेत समयमै नगर्दा प्रकोप पीडितले लामो समयसम्म पीडा भोगिरहनु परेको छ । जाजरकोट भूकम्पकै उदाहरण लिदा, ससाना वा मझौला भूकम्पले नितान्त स्थानीय स्तरमा मात्र विनाश गर्दा पनि समयमै राहत र पुनर्निर्माण गर्न नसकिँदा त्यसपछिको जाडोको ठिहीबाट करिब ३४ जनाले ज्यान गुमाउनु प¥यो । त्यहाँका कतिपय बासिन्दा अहिलेसम्म पनि त्रिपाल र टहरामै बस्न बाध्य छन् । हामीले साँच्चिकै ठुला र महाभूकम्प गएमा त्यो भयावह अवस्थाको सामना कसरी गर्न सकिएला सोचनीय विषय छ । रोक्न र पूर्वानुमान गर्न नसकिने भूकम्प कारण संरचनामा क्षति हुने मात्र होइन समयमै पूर्वतयारी र जनचेतानमूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नगर्दा अझ बढी क्षति र हताहती हुने हुन्छ । 

गोरखादेखि पश्चिमको क्षेत्रमा विगत ५२० वर्षदेखि ठुला तथा महाभूकम्प नगएकाले ठुला र महाभूकम्प जाने शक्ति सञ्चित भएर रहेको वैज्ञानिक अध्ययन अनुसन्धानबाट देखिएको छ, त्यसैले जुनसकै समय त्यस क्षेत्रमा ठुला भूकम्प जान सक्छ । यद्यपि ५२० वर्षसम्म भूकम्प नगएको ठाउँमा अझै ५० वा सय वर्ष भूकम्प नजान पनि सक्छ अथवा लामो समय भएकोले लगत्तै पनि जान सक्छ । त्यसैले सधैँ सजग, सचेत र चनाखो हुनु पर्छ । यसको अर्थ पूर्वी नेपाल वा अन्य स्थानमा भूकम्पीय जोखिम छैन भन्न खोजिएको भने कदापि पनि होइन तर दुःखको कुरा विनाशकारी गोरखा भूकम्पले भएको १० वर्ष भइसक्दा पनि जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि कुनै ठोस र प्रभावकारी कदम चालिएको छैन ।

पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म २५०० किमी लामो दुई सक्रिय भौगर्भिक प्लेटहरूको टकरावको सम्पूर्ण क्षेत्र भूकम्पीय दृष्टिले अत्यन्त जोखिमयुक्त क्षेत्र मानिन्छ । त्यसको पनि नेपालले एक तिहाइ लम्बाइ ओगट्ने हुनाले यो सम्पूर्ण क्षेत्रको भूकम्पीय जोखिमको एक तिहाइ भार पनि नेपालमै पर्छ । पृथ्वीको गर्भमा विभिन्न स्थानमा ठुला, मझौला र साना चलायमान दुई वा दुईभन्दा धेरै भौगर्भिक प्लेटहरू एक आपसमा ठोक्किएको र जुधेको वा एक आपसबाट टाढा गइरहेको अवस्थामा छन । यिनै प्लेटको चालका कारण दबाब सिर्जना हुने, शक्ति सञ्चित हुने र उक्त सञ्चित शक्ति क्षीण हुने एक मात्र माध्यम भूकम्प भएकाले समय समयमा विभिन्न स्थानमा भूकम्प जाने गर्छन् । महा, ठुला र मझौला भूकम्पलाई छाड्ने हो भने विश्वभर मानिसले थाहा नपाउने वा अनुभव नगर्नेदेखि पाँच मान सम्मका खासै विनाश नगर्ने करिब ५०० भूकम्प दैनिक जाने गरेको बताइन्छ । सामान्यतया अपवादबाहेक ३.५ रेक्टरभन्दा साना भूकम्पहरू भूकम्प मापन यन्त्रले मात्र रेकर्ड गर्ने हुन्छ भने त्योभन्दा ठुला भूकम्प भूकम्पको मान अनुसार जति ठुलो भयो सोहीबमोजिम केन्द्रविन्दुबाट टाढासम्म अनुभव गरिने हुन्छ । अहिले सम्मका भूकम्पहरूको अध्ययनबाट ठुला र महाभूकम्प विशेष गरी दुई वा सोभन्दा धेरै भौगर्भिक प्लेटहरू एक आपसमा जुधेको ठाउँमा गएको देखिन्छ । जापानको सन् २०११ को ९.१, नेपालको २०१५ को ७.६, सन् २०२४ को अमेरिकाको ७.० र हैटीको ७.४ तथा हालै म्यानमारमा गएको ७.७ मानका भूकम्पहरू यस प्रकारका भूकम्पका उदाहरण हुन् ।

भूकम्पका सम्बन्धमा हालसम्म सबैभन्दा बढी जिज्ञासा यसको पूर्वानुमान (भूकम्प जानुअघि भूकम्पको मान, केन्द्रविन्दु र जाने समय ठिकसँग यकिन गरी बताउनु) र पूर्वसूचना प्रणालीसँग सम्बन्धित छ । सन् १९६० को चिलीको भल्दिभियाको हालसम्मको सबैभन्दा ठुलो मानिएको भूकम्पले पु¥याएको क्षतिपछि भूकम्पको पूर्वानुमान गर्न सकिएमा धेरै जनधनको क्षति कम गर्न सकिन्छ भनि यस क्षेत्रमा कार्यरत वैज्ञानिक लागिपरे पनि अहिलेसम्म सम्भव भएको छैन । यद्यपि अहिलेसम्मको अध्ययनबाट भूकम्प जाने क्षेत्रहरू पहिचान गर्न भने सकिएको छ । विश्वसनीय पूर्वानुमान गर्न नसकिएपछि वैज्ञानिकहरू पूर्वसूचना प्रणालीतर्फ लागिपरेका छन । पूर्वसूचना प्रणाली, भूकम्प गइसकेपछि उत्पन्न हुने भूकम्पका विभिन्न गति र शक्तिका तरङ्गमध्ये शक्तिशाली र विनाशकारी (द्वितीयक र सतही) तरङ्ग आउनु अगाडि सबैभन्दा छिटो गतिको तर कम शक्तिशाली प्राथमिक तरङ्ग आउनासाथ रेकर्ड तथा प्रशोधन गरेर भूकम्पको सूचना दिने प्रणाली हो । तथापि यो प्रणाली पनि स्वतः सञ्चालन र बन्द गर्न सकिने प्रणाली जडान भएको अवस्थामा बाहेक त्यति प्रभावकारी पाइएको छैन । 

नेपालमा भूकम्प मात्र होइन जुनसुकै प्रकोपको आशातित न्यूनीकरण गर्न नसकिनुमा प्रकोपको सामना तथा प्रभावकारी प्रतिकार गर्न आवश्यक पूर्वतयारी नगरिनु तथा त्यस प्रकारका जोखिमबाट प्रभावित हुन सक्ने समुदायलाई सचेत गराउन यथा समयमा पहल नगरिनुलाई लिन सकिन्छ । नेपालमा भूकम्पको निगरानी सन् १९७८ मा काठमाडौँको दक्षिण पूर्वमा रहेको फूलचोकी डाँडामा एउटा भूकम्प मापन स्टेसनको स्थापना गरी सुरुवात गरेको खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले हाल नेपालभर स्थापना गरिएका ४२ वटा भूकम्प मापन स्टेसनको सञ्जालको सहायताबाट नेपाल र यसको आसपासमा जाने भूकम्पको ७/२४ अनुगमन गर्ने र चार मानभन्दा ठुला वा अनुभव गरिएका भूकम्पहरूको यथाशिघ्र प्रशोधन र विश्लेषण गरी भूकम्पको सूचना (भूकम्प उत्पत्ति भएको समय, केन्द्रविन्दु र मान) सम्बन्धित व्यक्ति, सरोकारवाला निकाय, सञ्चार माध्यम वा सर्वसाधारणको जानकारीका लागि विभिन्न माध्यमबाट उपलब्ध गराइ उद्धार कार्यमा सहयोग पु¥याउँदै आएको छ । केन्द्रले स्रोत र साधनले भ्याएसम्म भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले समयमा जनचेतनामूलक कार्यक्रम र विभिन्न सङ्घ संस्था तथा सरकारी निकायमा भूकम्पसम्बन्धी कक्षा र प्रस्तुतीकरणसमेत सञ्चालन गर्दै आएको छ । 

विसं २०७२ को गोरखा भूकम्पको भयावह अवस्था देखेका भोगेका हामीले दस वर्षसम्म सोही अनुसार गर्नुपर्ने पूर्वतयारी पनि गरेका छैनौँ वा पाठ सिकेका छैनौँ । अहिलेको पूर्वतयारीमा गरिने लगानीले भविष्यमा धेरै हताहती र क्षति कम गर्न सहयोग पुग्छ । यसका लागि स्थानीय तह तथा समुदायलाई क्षमता अनुसार स्थानीय रूपमा उपलब्ध सामग्रीको प्रयोग गरी कसरी भूकम्प प्रतिरोधी भवन बनाउने, स्कुलमा भूकम्प शिक्षाको सुरुवात गर्ने तथा भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने पूर्वाभ्यास गराउने, पूर्वतयारीका सम्बन्धी जनचेतना जगाउने कार्यहरू नियमित रूपमा सञ्चालन गर्ने, धेरै मानिस जमघट हुने वा आवतजावत गर्ने तथा घना बस्ती भएका स्थानहरूमा भूकम्पसम्बन्धी सचेतनामूलक पोस्टर, पम्पलेट राख्ने वा वाल पेन्टिङहरू गर्ने, भवन निर्माण गर्दा भवन संहिताको प्रयोगमा कडाइ गर्ने, पुराना घरहरूको सबलीकरण गर्न लगाउने, जोखिम क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रहरूमा बस्ती नबस्न, नबसाउन प्रोत्साहन गर्ने तथा उद्धारका लागि शीघ्र उद्धार दस्ता तयार गर्ने तथा भूकम्पको धक्का महसुस भएको समयमा मात्र नभई नियमित रूपमा विद्युतीय सञ्चार माध्यम तथा पत्रपत्रिकालगायत अन्य माध्यमबाट पूर्वतयारीसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रसारण गर्नेलगायतका कार्य पर्छन् ।