• ११ वैशाख २०८२, बिहिबार

सोती खानेपानी लिफ्टिङ योजना अलपत्र

blog

सोती लिफ्टिङ खानेपानी योजना अन्तर्गत बर्राचौरमा निर्माण गरिएको अलपत्र शाखा पानी ट्यांकी ।

प्रनिश गिरी

कुश्मा, पर्वत वैशाख ११ गते । पर्वत जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिकाको सोती खानेपानी लिफ्टिङ योजना अलपत्र परेको छ । दुर्गमबस्तीका जनतालाई पिउने पानीको सुविधा पुराइने लक्ष्य राखिएको सोती खानेपानी लिफ्टिङ योजना ४ वर्षदेखि अलपत्र छ । 

गण्डकी प्रदेश सरकारको ४ करोड लागतको बहुवर्षीय खानेपानी योजनाले ३ सय घरधुरीलाई खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको वडा २ का अध्यक्ष गणेश शर्मा पौडेलले बताउनुभयो । दुई वर्षमा सम्पन्न हुने भनिएको खानेपानीको योजना वर्षौ लाग्दा स्थानीयबासीलाई पिउने पानीको ज्यादै समस्या रहेको वडा अध्यक्ष बताउनुहुन्छ । पिउने पानीका लागि गाउँलेहरु टाढाटाढा रहेका कुवा र मुलको पानीमा भरमा पर्नु परेको छ । चैत महिनादेखि यता भएका पानीका स्रोत पनि सुकेपछि पिउने पानी लिन टाढा खोलातिर लाग्नुपर्ने बाध्यता रहेको पौडेलले बताउनुभयो ।

खानेपानी योजना पुरा नहुँदा वडा २ मा रहेका गैरे, सातविसे, शेरा, ठौवा, बासकोट, कर्मीथर, आरनटोल, उपल्लो बर्राचौर, तल्लो बर्राचौर लगायतका क्षेत्रमा पिउने पानीको हाहाकार छ । शेरा टोल बस्ने कृषक लिला कुमारी नेपालीले खडेरी बढेसँगै खानेपानीको हाहाकार भएको दुखेसो पोख्नु भएको छ । कृषक नेपालीले भन्नुभयो, "एक गाग्री पिउने पानीका लागि एक घण्टा लगाएर भूपे खोला धाउनु परेको छ । घरमा पालेका ३ वटा बाख्रा, एक घोरेपाडी, भैसी, बंगुर, राँगोलाई पानी खुलाउन गार्‍हाे भएको छ । करेसाबारीमा लगाएको तरकारी पानी नपाएर सुकेको अवस्था छ ।"

खानेपानी योजना अन्तर्गत निर्माण गरिएका रिजर्भ ट्यांकी एक र ६ वटा शाखा ट्यांकीहरु लामो समयदेखि प्रयोगविहिन अवस्थामा छन् भने विच्छाइएका पाइप लाइनहरु कच्ची सडक खन्ने क्रममा क्षतविक्षत भएको स्थानीयबासीको भनाइ छ । एक घर एक धारा कार्यक्रम अन्तर्गत गाउँका केही घरधुरीहरुमा धारा निर्माण गरेको पनि वर्षौ भइसकेको छ । निर्माण गरिएको धाराबाट पानी कहिले झर्ने हो भन्ने कुरा भने गाउँलेलाई केही टुंगो छैन । 

बर्राचौरका स्वास्थ्य चौकी प्रमुख भूपेन्द्रनाथ पौडेलले खानेपानी ट्यांङकीलाई इङ्कित गर्दै भन्नुभयो, "स्वास्थ्य चौकीको जग्गामा गाउँलेलाई पिउने पानीको सुविधा हुन्छ भनेर पानी ट्यांङकी निर्माण गर्न दिने सहमति भयो तर ४ वर्ष वितिसक्दा पनि खानेपानी योजना सम्पन्न भएको छैन । पानी ट्याङकी निर्माण गरिएपछि स्वास्थ्य चौकीलाई जग्गा साँगुरो भएको छ । वर्षौसम्म प्रयोगविहिन रहदा ट्याङकी मक्कि सकेको छ ।"

कालीगण्डकी किनार नजिकै खानेपानी योजनाका लागि १ सय घनमिटरको ट्याङकी निर्माण गरिएको छ भने ५० घनमिटर बराबरका ५ वटा ट्याङकी निर्माण गरी अलपत्र छोडिएका छन् । खानेपानी योजनाको प्रमुख पाइप लाइन र शाखा पाइप लाइन विस्तारको काम पुरा गरिएको छैन । निर्माणको ठेक्का सम्झौता लिएका ठेकेदार गिरिजा प्रसाद तिवारीको खानेपानी योजनाको काम ५० प्रतिशत पुरा गरेको दाबी छ । 

अहिलेसम्म २ करोड बढी रकम खर्च गरिसकेको खानेपानी योजनालाई आर्थिक अभावका कारण पुरा गर्न नसकिएको गुनासो खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोति कुँवरको छ । 

समितिका अध्यक्ष कुँवरले भन्नुभयो, "प्रदेशको खानेपानी मन्त्रालयले वर्षेनी थोरै थोरै आर्थिक बजेट विनियोजन गर्दछ । थोरै बजेट हुँदा काम सम्पन्न हुन ढिलाई भएर अलपत्र भएको छ । आर्थिक वर्ष २०८१⁄०८२ मा २० लाख रकम मात्रै विनियोजन भएको थियो ।"