• ११ वैशाख २०८२, बिहिबार

कालोपत्र सडकले जोडिँदै ढोडेनी

blog

बागलुङ नगरपालिका ४ ओडारचौरदेखि ढोडनी गाउँ जोड्ने सडक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख ११ गते । सहरी शासकीय सुधार कार्यक्रममार्फत तरकारी गाउँले परिचित बागलुङ नगरपालिका ४ को ढोडेनी गाउँ कालोपत्र सडकले जोडिँदै छ । व्यवसायिक तरकारी र दुध उत्पादन गरेपनि जीर्ण सडकले समयमै बजार पठाउन नसक्दा निराश किसानलाई कालोपत्र सडकले ढुवानीमा राहत मिल्ने छ । 

ओढारचौर–ढोडेनी सडक ट्रयाक खुलेको २५ वर्षपछि स्तरोन्नति हुन लागेको छ । बागलुङ बजारबाट नजिकै रहेर पनि सडक सुविधाबाट वञ्चित बनेका ढोडेनीबासीले गैँची र कोदालोको सहायताले २०५६ सालमा यो सडकको ट्रयाक खोलेका थिए । स्थानीय एकजुट भई गैँची र कोदालोको सहाराले ओढारचौरको पहरो काटेर सडक बनाएको ढोडेनीका प्रेम प्रसाद आचार्यको स्मरणमा अझै ताजा छ।

तत्कालिन जिल्ला विकास समितिको ५ लाख रुपियाँ बजेट र ३६ दिनको श्रमदानबाट बनेको मोटरबाटो स्तरोन्नतिसहित कालोपत्र हुनेगरी धमाधम काम चलेपछि ढोडेनीबासी दंग छन् । ‘हामीले दुखझेलो भोगेर बाटो बनाएऔं, छोराछोरीको पालामा कालोपत्र हुने भयो’’ ७४ वर्षिय टिकाराम आचार्यले भन्नुभयो ।   

उपल्लाचौर–ढोडेनी सडकको साढे २ किलोमिटर सडक पक्की बनेमा कालीगण्डकी नदीको झोलुङ्गे पुल तरेर पर्वतको लस्ती, मालढुंगाहुँदै बागलुङ बजार पुग्नुपर्ने बाध्यता अन्त्य हुने ढोडेनीका ७६ वर्षीया जिवानन्द सापकोटाले बताउनुभयो । मालढुंगा हुँदै बागलुङ बजार आउँदाको भन्दा उपल्लचौर–ढोडेनी सडक प्रयोग गर्दा आधा छोटो हुने सापकोटाको बुझाइ छ । ‘‘सडक सहज भए बिरामी हुँदा अस्पताल आउजाउ गर्न पनि सजिलो होला,’’ सापकोटाले भन्नुभयो । 

पर्वतको लस्ती, धाइरिङ र बागलुङको ढोडेनीका किसानले उत्पादन गरेका तरकारी, फलफूल र दूध म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री गर्छन् । ‘‘सडक कालोपत्रे भएमा हामीलाई धेरै फाइदा पुग्छ,’’ पर्वत लस्तीका दुध उत्पादक कृषक टेबहादुर क्षेत्रीले भन्नुभयो । पर्वतको लस्ती, खनियाघाट, मालढुंगा हुँदै १५ किमी दुरी पार गरेर बागलुङ बजार आउने नागरिकलाई उपल्लाचौर ढोडेनी सडक कालोपत्र भएमा ७ किमी छोटो पर्ने क्षेत्रीको भनाई छ ।    

असार मसान्तसम्म कालोपत्र गर्नेगरी ओडारचौरदेखि ढोडेनी जोड्ने सडकमा धमाधम स्तरोन्नतिको काम चलिरहेको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो। सडक निर्माणको ६० प्रतिशत प्रगती भैसकेको शर्माको दाबी छ । ‘हामीले संरचनाको काम सकेका छौं, कतिपय स्थानमा सव–बेस पनि बिच्छ्याई सक्यौं’ शर्माले भन्नुभयो, ‘तोकेकै समयमा काम सक्ने लक्ष्य छ ।’ 

बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत असार मसान्तभित्र सक्ने गरी वडा नं. ४ को ओडारचौर–ढोडेनी साँढे २ किमी, वडा नं. ७ को मुलपानी–तितौरे सडकको साँढे ८ किमी र गणेश घुम्तीदेखि निरयघाटको डेढ किमी गरी साँढे १२ किमी ६ देखि ८ मिटर चौडाका सडक निर्मण गरिरहेको छ । विश्व बैंकको अनुदान सहयोगमा नगरपालिकाले ४८ करोडमा तीन सडक निर्माण गरिरहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।