काठमाडाैँ, वैशाख १० गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गर्नुभएको छ ।
सिंहदबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितको बारेमा छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो । उहाँले भारत र नेपालको बिचमा सहरी विकासको सम्बन्धमा अनुभव र सहयोग आदानप्रदानको विषयमा छलफल भएको जानकारी दिनुभयो ।
भेटमा भारतले पछिल्लो समय सहरी विकासको क्षेत्रमा गरेको काम र त्यसबाट नेपालले सिक्नसक्ने कुराका बारेमा छलफल भएको बताउनुभयो । उहाँका अनुसार सहरी यातायात व्यवस्थापन, फोहोरमैलाको व्यवस्थापनको अनुभव आदानप्रदान लगायतका बारेमा छलफल भएको छ ।
उहाँले भन्नुभयो, ‘भारतका विद्युतमन्त्री सहरी विकासमन्त्री पनि हुनुहुन्छ । उहाँले खास गरेर भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समयमा हासिल गरेको प्रगति र सहरी यातायात व्यवस्थापन, फोहोरमैला व्यवस्थापनको अनुभव आदानप्रदान भएको छ । भारतीय माननीय मन्त्रीले व्यक्त गर्नुभएका धारणालाई सहरी विकासमन्त्रीज्यूले पनि सकारात्मक रूपमा लिनुभयो ।’
नेपाल र भारतबिच सहरी विकासका अनुभवहरू आदानप्रदान गर्न र सहायताका लागि एमओयु तयार भएको उल्लेख गर्दै सचिव सिग्देलले उचित समयमा हस्ताक्षर गरिने बताउनुभयो ।