काठमाडौँ, वैशाख १० गते । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ ले मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । दुई दिने प्रतियोगितामा एकेडेमीले ११ स्वर्ण, चार रजत र दुई कांस्य जित्यो ।
ढल्कु तेक्वान्दो डोजाङ चार स्वर्ण र चार रजतसाथ दोस्रो र तेस्रो भएको बुटवलले दुई स्वर्ण, पाँच रजत र पाँच कांस्य जित्यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः एक लाख, ६० हजार र ३० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको प्रतियोगिताको पुरुषमा स्वयम्भूका प्रज्ज्वल पौडेल तथा महिलामा आयोजककी विपिना तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवै जनाले पाँच पाँच हजार रुपियाँ पाउनुभयो ।
विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
उक्त अवसरमा आचार्य, श्रेष्ठ र धामीलगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । दुई दिने प्रतियोगितामा चार सय ७९ खेलाडीले ग्योरोगी र पुम्सेमा गरी जम्मा ३६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।